ऐलानी जग्गा व्यक्तिका नाममा राजीनामा पारित, पर्सा मालपोतका अधिकृत र नासु दोषी ठहर

पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराई भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनीहरु दुईका साथै चार जनालाई सजाय सुनाएको हो । 

साविकको अलौ गाविसमा पर्ने ऐलानी÷सार्वजनिक जग्गा अर्याल र भट्टराई मिलेर व्यक्तिका नाममा कायम गरिदिएका थिए । यस घटनामा कतै नसुनिएको कसूर भएको छ । 

उनीहरु दुवै मिलेर ऐलानी जग्गामा बनेको घर मात्र राजीनामा लिखत पास गराएका थिए । कानून विपरीत भोगचलनको अधिकार व्यक्तिमा रहनेगरी उनीहरुले गलत जग्गा लिखत तयार गरी गलत राजीनामा पारित गरेको भेटिएको थियो ।

सरकारी भोगचलन हस्तान्तरणमा दोषी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । यसको ११ महिना नपुग्दै विशेषले यस मुद्दामा फैसला दिएको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । जसमा अधिकृत अर्याल र नासु भट्टराईलाई जनही तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । 

यस मुद्दाका अर्का दुई प्रतिवादीलाई पनि उति नै सजाय तोकिएको विशेषका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार वीरगञ्ज महानगरपालिका २ का ज्याउल हक र एसानुल हक राकीलाई पनि तीन–तीन महिना कैद र १०–१० हजार जरिवाना हुने भएको हो । 

उनीहरु दुवैले सार्वजनिक जग्गा आफूले भोगचलन गर्नका लागि भनी ऐलानी जग्गामा बनेको घर मात्र नक्कली कागजात तयार गरी लिखत पास गराएका थिए । राष्ट्रसेवकलाई गैरकानूनी कार्यमा सहयोग गरी नेपाल सरकारलाई हानी पु¥याएको अभियोग उनीहरुमाथि रहेकोमा ठहर हुने फैसला विशेषले गरेको हो ।