रामग्राम क्षेत्रको १२० बिघा जग्गा १९ वर्षका लागि निजी कम्पनी सुम्पिने निर्णयको छानबिन अख्तियारले पनि गर्ने

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेपछि यो प्रकरणलाई अख्तियारले नियाली रहेको

गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिने निर्णयको  छानबिन अख्तियारले पनि गर्ने भएको छ ।  लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेपछि यो प्रकरणलाई अख्तियारले नियाली रहेको थियो ।

तर, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यो प्रकरणको छानबिन गर्न अख्तियारलाई सिफारिस गरेको छ । समितिको आइतबारको बैठकले यो प्रकरणका सबै समझारी रोक्न निर्देशन दिनुका साथै सरकार र अख्तियारलाई छानबिन गर्न भनेको हो ।  समितिले रामग्राम क्षेत्र निजी कम्पनीलाई दिन हतारिनुले गम्भीर आशंका उत्पन्न गरेको भन्दै यसको पछाडिको कारण अध्ययन र अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको हो ।

पूरातत्व विभाग र अर्थ मन्त्रालयको स्वीकृति नलिई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्रक्रिया अघि बढाएका थिए। 

समितिले निर्देशन दिँदै भनेको छ, ‘‘उक्त कार्यप्रक्रिया कानुनसम्मत नभएको र राज्यलाई दीर्घकालीन रुपमा हानी नोक्सानी हुने देखिएकाले उक्त कार्य तत्काल खारेज गर्न र सो को जानकारी समितिलाई दिन यो बैठक ‘निर्देश गर्दछ ।’ समितिले रामग्राम क्षेत्रको विकासका लागि आवश्यक जमिन अधिग्रहण गर्न, आवश्यक बजेट विनियोजन गर्न र सरकारी तवरमा उक्त क्षेत्रको विकास गर्न पनि सरकारलाई भनेको छ । साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ । सरकार र अख्तियारले स्वतन्त्र छानबिन गर्दा लामा तानिनेछन् । किनकी निजी कम्पनीलाई रामग्राम क्षेत्र सुम्पिने काम लामाले गरे्का हुन्।

प्राचिन स्मारक ऐन, २०१३ ले पुरातात्विक स्मारक र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण र उत्खनन् गर्न सक्ने अधिकार पुरातत्व विभागलाई मात्र दिएको छ । ‘कानूनको प्रतिकूल हुने गरी कुनै एक निजी संस्थाले गर्ने आवधारणामा समझदारी हुनु भित्र सुनियोजित दुराशय छैन भन्न सक्ने अवस्था देखिँदैन, साथै कुनै एक संस्थाको व्यापारिक अवधारणा कार्यान्वयनका लागि राज्यले नागरिकको विधाका विघा जग्गा अधिग्रहण गरी ९९ वर्षको लागि सुम्पनु पर्ने, अझ जग्गा कोषको स्वामित्वमा नआँउदै वा सो सम्बन्धमा कुनै कार्य प्रारम्भ नै नभएको सन्दर्भमा र नेपाल सरकारको स्वीकृती समेत नलिई समझदारी गर्न हतारिनुले गम्भिर आशंका उत्पन्न गरेकोले यस्तो कार्य गर्न उद्वत रहनुको पछाडिको कारण अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा छ ।

समिति सभापति ऋषिकेश पोखरेलले शताब्दीसम्म ऐतिहासिक सम्पदामा निश्चित कम्पनीको नियन्त्रणमा रहनेगरी गुपचुप रुपमा सम्झौता गरिएकाले तत्काल रोक्न निर्णय गरिएको बताए।