प्रधानमन्त्री प्रचण्डः जहाँ पुग्यो त्यहीँ गैरजिम्मेवार भाषण

प्रचण्ड आफूले के बोल्न हुने र के बोल्न नहुने भन्ने बिरलै ख्याल गर्छन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले के बोल्न हुने र के बोल्न नहुने भन्ने बिरलै ख्याल गर्छन् । उनी मञ्च र माइक पायो कि केही न केही विवादित अभिव्यक्ति दिएरै हिँड्छन् । देशको प्रधानमन्त्रीले बोल्दा त्यसबाट समाजमा के सन्देश जान्छ र दीर्घकालमा राष्ट्रकै जीवनमा के असर गर्छ भनेर समेत ख्याल गरेको पाइँदैन । 

अझ उनले हाम्रो सामाजिक सांस्कृतिक संवेदनशीलता ख्याल नगरी क्षणिक भावुकता र उत्तेजना फैलाउने गरी बारम्बार भाषण गरेका छन् । भूमिगत संघर्षका क्रममा देशमा १० वर्षसम्म द्वन्द्व मच्चाएर नै आएका उनी सत्तामा हुँदा पनि उस्तै गैरजिम्मेवार शैली अपनाइरहेका छन् ।

निश्चित समूहलाई रिझाउन निकै सस्ता भाषणबाजीमा समेत उनी उत्रिएका छन् । जस्तो कि उनले शनिबार राजधानीमा ल्होसर मनाइरहेका समुदायकहाँ गएर मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने भनेर हिँडे । सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले काठमाण्डुको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताएका हुन् । उनले भने, ‘म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु ।

अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’ । गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको तर बागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको भन्दै उनले अब भने संघीय सरकारमै मन्त्री बनाउने उनले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताएका छन् । उनले भने, ‘हाम्रो कर्मचारीतन्त्र, हाम्रो विधि, विधान र प्रक्रिया निकै जटिल छ । मैले पक्कै पनि गतसाल भनेको हो–विगतको भन्दा दोब्बर गरेर तामाङ ल्होछारका लागि सहयोग हुन्छ । मैले त सही गरेर दिएको पनि हो । यहाँ उद्घोषकले घुमेको घुमेकै गरेको अर्थ र पर्यटन मन्त्रालयमा भनेर भन्नुभएको छ । म पोहोरलाई पनि फलो गर्छु’ ।

यसअघि उनले आदिवासी जनजाति दिवसका दिन प्रदेशहरुका नामै फेर्नेसम्मको कुरा गरेका थिए । सबै प्रदेश सभाले विधिसम्मत तरिकाले नामकरण टुंग्याइसकेको अवस्थामा देशका प्रधानमन्त्रीले दिएको त्यो भड्काउपूर्ण अभिव्यक्ति आपत्तिजनक मात्र थिएन, सार्वजनिक शान्ति खल्बल्याउन र साम्प्रदायिक द्वन्द्व भड्काउन खोजेको अभियोगमा फौजदारी कारबाहीका लागि पनि लायक थियो ।

यति मात्र होइन उनी आफू प्रधानमन्त्री भएर आश्वस्त तुल्याउनुपर्नेमा झन् आन्दोलनका लागि उचाल्ने र भड्काउने काम बारम्बार गरिरहेका छन् । उनको यो साँखुल्ले शैलीले राज्यप्रतिको विश्वास र भरोसा टुटाएको छ । यही कारण पनि हुन सक्छ कि आज युवा पलायनको भयानक दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्नुपरेको छ ।

शनिबार उनले गरेको भाषणकै कुरा गर्दा यदि उनी जात हेरेर नै मन्त्री बनाउँदै छन् भने देशमा रहेका सयभन्दा बढी जातजातिलाई मन्त्री पद बाँड्न सक्छन्? यदि तामाङ वा यस्तै कुनै किनारीकृत समुदायलाई उनी शक्तिमा ल्याउन चाहन्छन् भने आफू प्रधानमन्त्रीको पद छाडेर त्यो ठाउँमा ल्याउन तयार छन् ?

एउटा सेरेमोनियल हैसियतको राष्ट्रपति बनाउँदा त उनले बारम्बार शक्तिको स्वाद लिएका र राजनीतिमा लगभग असान्दर्भिक भइसकेका रामचन्द्र पौडेल नामका बाहुनलाई त्यो पद सुम्पिए । एकजना जनजाति सुवास नेम्बाङलाई पहिलो जनजाति राष्ट्रप्रमुख बनाउने अवसर इतिहासबाट खोसिदिए । यदि उनी साँच्चै क्रान्तिकारी थिए र मुलुकमा जातीय विभेद उन्मूलनकै लागि काम गर्न इच्छुक थिए भने दलितलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीको पदै दाउमा लगाउनुपरे पनि  तयार हुन्थे ।  

उनको कथनी र करनी बेग्लै छ । जनतालाई भुलभुलैयामा राखेर आफ्नो दुनो सोझ्याउने रणनीति त सबैजसो दल र नेताहरुले अपनाएकै हुन् । तर प्रधानमन्त्री प्रचण्डले सत्तामा हुँदा पनि द्वन्द्वको व्यसन छाडेनन् । उनको यो निकै सस्तो खालको लोकप्रियतावादी शैली तबसम्म चलिरहनेछ, जबसम्म नेपाली जनताको चेतनाको बिर्को उघ्रिने छैन ।