चितवनमा १० महिनापछि फेरि देखियो कोरोना

चितवनमा १० महिनापछि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । 

जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । 

कार्यालयले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।