नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले दिए दरखास्त
काठमाडौं । सवै भन्दा धेरै रकमको कारोबार गर्ने सरकारी सस्था नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले दरखास्त दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रका अनुभवी १४ जनाले निवेदन दिएका हुन् ।
मन्त्रालयका अनुसार कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा. डोलप्रसाद चापागाईं, सहदेव चन्द, रामदेव यादव, सञ्जीवकुमार श्रेष्ठ, पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी, दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनीले कार्यकारी निर्देशक बन्न निवेदन दिएका छन् ।
आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ ।
सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।
वार्षिक करिब तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम सरकारी स्वामित्वका कम्पनीमध्ये सबैभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनी हो । त्यसैले निगमको नेतृत्व लिन सधैँ तीव्र प्रतिस्पर्धा हुने गरेको छ । निगमको कार्यकारी निर्देशकको आकर्षक तलव र सुविधा पनि हुने गरेको छ ।
प्रतिक्रिया