झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा छैनन् भीम रावल, एमालेमा एक्लिँदै

समृद्धिको संकल्प यात्रा भन्दै एमालेले १४ मंसिरदेखि बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिसकेको छ । एमाले अध्यक्ष केपी ओलीसहित सबै पदाधिकारी र नेता सहभागी यो यात्रा सुदूरपश्चिम सकेर कर्णाली प्रदेश पुगिसकेको छ ।

सोमबार मात्र नेताहरु सुर्खेत पुगे । तर, कुनै बेला एमालेमा शक्तिशाली नेताका रुपमा चिनिएका र सुदूरपश्चिम प्रदेश घर रहेका भीम रावल भने गुमनामजस्तै छन् । उनी यो अभियानमा कहीँकतै देखिएनन् । बरु ओली कर्णाली प्रदेशतर्फ लागेपछि रावल गृहजिल्ला अछाम पुगे ।  एमाले पूर्वउपाध्यक्षसमेत रहेका रावल पार्टीको राष्ट्रिय अभियानमा आफूलाई औपचारिक निम्ता नगरिएको भन्दै यात्रामा सहभागी छैनन् । 

रावल गृहजिल्ला अछाम जान आइतबार धनगढी पुगेका थिए । सोमबार अछाम पुगे ।  सुदूरपश्चिमबाट सुदूरपूर्वसम्मको यो अभियानमा रावल जोडिन नसक्नुमा अध्यक्ष ओली र रावलको अहम हो ।   चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेर रावल पराजित भएका थिए । र, निर्वाचित केन्द्रीय सदस्य पनि अस्वीकार गरेपछि उनी एमालेमा पदविहीन बने । 

कुनै एमाले एमाले नेता माधवकुमार नेपालका प्रिय पात्रा रहेका रावल शक्तिशाली नेता थिए, गृहमन्त्रीसम्म बने । नेकपा विभाजन हुँदा उनी नेपालतिर लागेनन् बरु एमालेमै रहे । माधव नेपालसँग मिलेर आफ्नो खेदो खनेको भन्दै ओलीले उनलाई पन्छाउँदै आएका छन् ।

गत वर्षको संसदीय निर्वाचनमा पनि रावलले टिकट पाएनन् जबकि एमाले जिल्ला र प्रदेश कमिटीले उनको एकल नाम सिफारिस गरेको थियो ।तर, ओलीले उनको नाम काटेर पूर्वमाओवादी नेता झपट बोहरालाई टिकट दि । अछाममा एकीकृत समाजवादीले जित हात पारेको थियो । 

एमालेको मिसन ग्रासरुट अभियानमा रावल सहभागी भएनन् ।  ओलीले साउन ३० गते रावललाई पार्टी मुख्यालय च्यासलमै बेलाएर भेटेका थिए । दुई नेताबीच करिब २० महिनापछि भएको भेटमा ‘फेरि भेट्ने’ बाहेक अर्को समझदारी हुन सकेको छैन ।