खाँणलाई छाड्न आदेश दिने न्यायाधीश कांग्रेस कोटाका, यस्ता प्रत्यक्ष प्रमाणलाई पनि गरे अनदेखा

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका हाइप्रोफाइल अभियुक्तमध्ये २ जना उच्च राजनीतिक तहका व्यक्ति हुन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी एमालेका सचिव एवं बहालवाला सांसद पनि हुन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाँण कांग्रेस केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवाका दाहिने हात ।

यीमध्ये रायमाझीलाई जेल पठाउने विषयमा कुनै विवाद भएन । जिल्ला अदालतकै आदेश उच्च अदालतका दुवै न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलले सदर गरे ।

रायमाझीसहित १५ अभियुक्तका हकमा सहमतिको राय सार्वजनिक भयो । तर, बालकृष्ण खाँणका हकमा दुई न्यायाधीशबीच राय बाझियो। राय पनि यसरी बाझियो कि एकजना न्यायाधीशले त भएका तथ्य, प्रमाण र तिनको वैज्ञानिक परीक्षणलाई समेत शून्य करार गरेर खाँणलाई निर्दोषजस्तो देखाएर राय लेखिदिए ।

कांग्रेस कोटाका मिडनाइट जज

यसरी बालकृष्ण खाँणलाई छाड्न आदेश दिने न्यायाधीश पाण्डे नेपाली कांग्रेसकै कोटामा नियुक्त भएको खुलेको छ । २०७३ सालमा उनीसहित ८० जना न्यायाधीशलाई मध्यराति नियुक्त गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीले आफ्नो भाग नलिए पनि कांग्रेस र माओवादीका नेतालाई बालुवाटारमै राखेर मध्यराति न्यायाधीशको भागबण्डा लगाएकी थिइन् । कांग्रेसका तर्फबाट रमेश लेखकले र माओवादीका तर्फबाट वर्षमान पुनले सूची बुझाएका थिए ।  

पाण्डे त्यतिखेर कांग्रेसको कोटाबाट कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । कानुन व्यवसाय खासै नचले पनि कांग्रेसको झोला बोकेकै आधारमा उनले यो अवसर पाएका थिए । नभन्दै अहिले उनले नुनको सोझो गर्दै आफ्ना नेतालाई जोगाउन न्यायाधीशको पद र न्यायालयको साख नै दाउमा लगाएका छन् ।

प्रत्यक्ष प्रमाणकै अनदेखा

भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्या समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको सक्कल प्रतिवेदन बालकृष्ण खाँण आएपछि नै लुकाइएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठीक पारिएका नेपालीको नाम घुसाएर नक्कली प्रतिवेदन मन्त्रालयमा अभिलेखीकरण गराउने कामको संरक्षण गर्ने र वातावरण बनाउने काम खाँणले नै गरेका थिए । यही काम गर्न उनले टेकनारायण पाण्डेलाई गृहमा तानेका थिए । पैसा असुलेर अमेरिका पठाइदिने भनिएका नेपालीहरूको भुटानी नाम र ठेगाना प्रतिवेदनमा समावेश गरिएको थियो ।

सक्कली प्रतिवेदनमा दिएका सुझावअनुसारको काम गर्न मन्त्रिपरिषद्मा पेस गरी स्वीकृत गराई कार्यान्वयनमा गइसकेको अवस्थामा नक्कली प्रतिवेदनअनुसार छुट दर्ता गर्ने मनसायबाट झापा जिल्लाका सहायक प्रजिअको नेतृत्वमा समिति गठन गराउने कामको नेतृत्व गृहमन्त्रीका रुपमा खाँणले नै गरेका थिए ।

समितिमा रहेर काम गरेका सहायक प्रजिअ चोकेन्द्र न्यौपाने र नासु सुरेन्द्र दाहाललाई नक्कली प्रतिवेदनअनुसारका नामलाई छूट दर्ता गर्न दबाब दिने काम स्वयं मन्त्री खाँण र उनका विश्वासपात्र सचिव टेकनारायण पाण्डेले गरेका थिए । यो कुरा न्यौपाने र दाहालले घटना विवरण कागजमा किटानीसाथ उल्लेख गरेका छन् ।

मन्त्री, सचिव र नक्कली शरणार्थी बनाउने गिरोहका बिचौलियाहरूको चर्को दबाबका बीच सहायक प्रजिअ न्यौपाने नेतृत्वको समितिले उनीहरूको स्वार्थमा काम गरेन । त्यसपछि २०७९ जेठ २७ गते ३ महिनाभित्र काम सम्पन्न गर्न ताकेतासहित खाँणले नै म्याद थपेका थिए ।  

केशव तुलाधर र सानु भण्डारी पक्राउ परेपछि मुद्दा मिलाउने र बालकृष्ण खाँणसमेतको नाम नलिने सर्तमा कांग्रेसकै पूर्वसांसद आङटावा शेर्पाले बालकृष्ण खाँणसँग कुरा गरी उनका पीए नरेन्द्र केसीमार्फत् १ करोड रुपैयाँ फिर्ता ल्याएको, सोमध्ये ३० लाख सानु भण्डारीको दाजु राजु भण्डारीलाई दिएको, बाँकी आफैले लिएको भनी कागज गरेको पनि फेला परेको छ । त्यो कागजमा भएका अक्षर र अंक आङटावा शेर्पासँग मेल खाएको भन्ने वैज्ञानिक परीक्षणबाट पुष्टि भएको छ । खाँणले बयान कागज गर्दा अपराध इन्कार गरे पनि पोलिग्राफ परीक्षणबाट उनको संलग्नता पुष्टि हुने प्रतिवेदन अभियोगपत्रसँग संलग्न छ । 

यी प्रत्यक्ष प्रमाण हुँदाहुँदै पाण्डेले के आधारमा खाँणलाई छाड्नुपर्ने देखे ? आफ्नो मन्त्रालयका सरकारी कागज प्रमाणको संरक्षण गर्नुपर्नेमा उल्टै नक्कली प्रतिवेदन उत्पादन गर्ने, नक्कली विवरण भर्न लगाउने, मातहत कर्मचारीलाई किर्ते काम गर्न दबाब दिने, त्यसो गर्न कर्मचारीले नमानेपछि पनि म्याद थप गरी ताकेता गर्ने, प्रकरण बाहिरिने जोखिम भएपछि एक करोड रूपैयाँमा मिलाउन खोजेको कुरा पुष्टि हुने स्पष्ट तथ्य र प्रमाणहरू हुँदाहुँदै उनले किन छाड्न खोजे ? 

गृह मन्त्रालयमै बसेर गिरोह सञ्चालन गर्ने मुख्य अभियुक्त खाँणलाई थुन्ने र अर्कै मन्त्रालय सम्हालेर बसेका बाहिरिया टोपबहादुर रायमाझीलाई थुन्नुपर्ने भनेर न्यायाधीश पाण्डेले दिएको राय आफैमा कति निष्पक्ष र तर्कसंगत छ ? यस मामिलालाई प्रधानन्यायाधीश, न्यायपरिषद् र संसदीय समितिले समेत गम्भीरतापूर्वक लिएर न्यायाधीश पाण्डेमाथि छानबिन हुनुपर्ने देखिन्छ । राजनीतिक नेता, आपराधिक गिरोह र न्यायाधीशको मिलेमतोमा देश चलाउने हो यहाँ इमानदार प्रहरी, कर्मचारी, नेता र न्यायाधीश लखेटिने क्रम झन् तीव्र बन्नेछ ।

न्यायालयमा यो हदसम्मको आपराधिक साँटगाँठ हुँदा पनि नागरिक समाज बोल्दैन भने त्यो समाजलाई पनि मृत लास करार गरिदिए हुन्छ । माइतीघर मण्डलालाई मसानघाट भन्न थाले हुन्छ ।