कोरोनाको ग्राफ बढ्दै, अदालतहरुमा ठूलो भीडको संकेत

काठमाण्डौ, साउन ११ । जसै कोरोना संक्रमणको ग्राफ फेरी बढ्न थालेको छ, मुलुकको सर्वाेच्च अदालत लगायतका जिल्ला र उच्च अदालतहरुमा समेत सेवाग्राहीको भीड सुरु हुन थालेको छ ।

विगत चार महिनादेखि थन्किएका पेशी, तारेख र सुनुवाई र दर्ताका सेवाहरु पूर्ण रुपमा खुल्ने वित्तिकै सबै अदालतहरुमा एकै पटक भीडभाड नहोला भन्न सकिने अवस्था छैन ।

सर्वाेच्च अदालत र जिल्ला अदालतहरुले साउन १४ गतेदेखि तीस दिनको समय दिएर मुद्दाहरुमा रहेको निषेधाज्ञा सम्बन्धित सम्पूर्ण सीमाहरु खारेज गरिदिएपछि कानुन व्यवसायी र सेवाग्राहीहरुमा नियमित रुपमा सेवा सुरुहुने कुराप्रति चिन्ता बढ्न थालेको छ ।

सम्पूर्ण अदालतलहरुले सेवा सूचारु हुने विषयका सूचनाहरु जारी भइसकेका छन् ।

साउनपछि अलिअलि गर्दै कोरोना भाइरस (कोभिड– १९) विरुद्ध जारी गरिएको निषेधाज्ञा खुकुलो पार्ने वित्तिकै एकपछि अर्काे गर्दै कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ र मृत्युको दर समेत बढ्न थालेको छ ।

कोरोना भाइरसको पहिलो लहर त्यति कडा नभएपनि हज्जारौं व्यक्तिलाई पिरोल्यौ सयौं व्यक्तिको ज्यान गएको थियो भने अर्बाैंको धन क्षति भएको थियो । दोश्रो लहरसंगै हज्जारौं व्यक्तिको मृत्यु लाखौंमा संक्रमण हुनुका साथै अर्बाैंको धनको क्षति भएको छ । त्यसैले कोरोनाले कुन रुपमा आक्रमण गर्ला यसै भन्न सकिने अवस्था छैन ।

सोमबारसम्मको आंकडालाई मात्रै विश्लेषण गर्ने हो भने पनि कोरोना भाइरसको कारणबाट हाम्रो देशमा मात्रै ९ हजार सात सय १३ जनाको मृत्यु भइसकेको छ । आइतबार नेपालमा भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १५३९ जना संक्रमित थपिएका छन् ।
संक्रमणको दर कुनै दिन घटि कुनै दिन बढी देखिएपनि संक्रमण पूरै घटेको छैन । बरु बढीरहेको छ । नेपालमा मात्रै ६ लाख असी हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संसारमा १९ करोड ४७ लाखभन्दा बढी व्यक्ति ज्यान मार्ने भाइरसबाट पिडित भएका छन् भने ४१ लाख ७४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

सर्वाेच्च अदालतमा मात्रै ३० हजारको हाराहारीमा रहेका मुद्दामा हुने चहलपहल र सबै अदालतहरुमा हुने चहलपहलको कारणबाट अब अदालतहरुमा पुनः भीड बढ्ने आंकलन हुनु अस्वाभाविक होइन ।

कोरोनाको दोश्रो लहरसंगै न्यायपरिषद्का सदस्य लक्ष्मी बहादुर निराला, काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठ, धादिङ जिल्ला अदालतका न्यायाधीश देबेन्द्र पौडेललाई न्यायालयले गुमाएको छ भने बरिष्ठ अधिवक्ताहरु हीरा रेग्मी, अधिवक्ताहरु गणेश श्रेष्ठ, उमेश मानन्धर लगायतका दर्जनभन्दा बढी कानुन व्यवसायीको मृत्यु भएको छ ।

अदालतहरुमा हुने भीडभाड, सेवाग्राहीमा नपुगेको खोपको अवस्था र स्वास्थ सुरक्षामा हुने लापरवाही जुनसुकै बेलामा पनि हुनसक्ने गंभीर अवस्थाका कारणहरु भएकाले अदालतमा हुने भीडभाडमा जोखिम रहेको कानुनव्यवसायीहरुको विश्लेषण छ ।

“यस्ता समस्याहरु सधैंका समस्या हुन, अब यी समस्यासंग जुधेर अघि बढ्नुको विकल्प छैन तर भीडभाड नहुने वातावरणको सिर्जना आवश्यक भइसकेको छ,” एक अधिवक्ताले बताए ।