ललिता निवासको जग्गा सरकारीकरण गर्ने प्रक्रिया सुरु

काठमाडौँ। भूमाफियाले हडपेको बालुटावारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा कायम गर्न सरकारले प्रकृया अगाडि बढाएको छ। आइतबार एक सूचना सार्वजनिक गर्दै ललिता निवासको जग्गा आफ्नो नाममा रहेका विभिन्न व्यक्तिलाई २१ दिने सूचना दिँदै सरकारको नाममा कायम गर्नु नपर्ने कारण प्रमाणसहित खुलाउनु सरकारले भनेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा विभिन्न व्यक्ति तथा संस्थाको नाममा रहेको भन्दै सूचना सार्वजनिक गरेको छ। यदि कसैलाई त्यो जग्गा सरकारको होइन, आफ्नै हो भन्ने लाग्छ भने कार्यालयलाई २१ दिनभित्र सूचित गर्न समेत सूचनामा भनिएको छ । नभए स्वतः जग्गा सरकारको नाममा हुने चेतावनी दिएको छ।

ललिता निवास जग्गा प्रकरणमा अहिलेका बहालवाला मन्त्री, पूर्वप्रधानमन्त्री, सर्वोच्चका न्यायाधीश, व्यवसायी, अख्तियारका पूर्वप्रमुखलगायत धेरै उच्च ओहोदावाल मुछिएका छन् ।

सरकारले विभिन्न ४९ जना संस्था तथा व्यक्तिको नामसहित तीन पुस्ते विवरण सार्वजनिक गरेको छ। जग्गाको कित्ता नम्बर पनि सार्वजनिक गरेको छ।