ओली र ठाकुर दुवै संकटमा ,काम चलाऊँ सरकारमा सहभागी हुनु जसपाको बाध्यता कि रहर?

 

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले काम चलाऊँको अवस्थामा छ । तर सरकारको रवैया हेर्दा जो कोहीलाई त्यस्तो लाग्दैन । मन्त्रिमण्डल पुनर्गठन भएको छ भने नियुक्ति गर्न बाँकी अब कुनै ठाउँ छैन ।मधेसको मुद्दा पुरा गर्न भन्दै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पार्टीमा एक पक्षीय निर्णय गर्दै सरकारमा सहभागी भएको छ ।

केही माग प्रधानमन्त्रीले पूरा गरिदिएकाले बाँकी माग पूरा गर्न भन्दै उनीहरु सरकारमा सहभागी भएका छन् ।मधेसको मुद्दाको सम्बोधनलाई सरकारमा जाने विषय बनाए पनि यसले एकीकृत जसपालाई विभाजनतिर लम्काएको छ। भारतको सत्ताधारी भारतीय जनता पार्टीको डिजाइनमा सरकारमा गएको कतिपयको बुझाइ छ।नेपालमा राष्ट्रियताको मुद्दालाई कमजोर बनाउन भारतले उनीहरूलाई सरकारमा पठाएको स्रोतको दावी छ ।

कुनै न कुनै किसिमले सधै जसो सरकारमादेखिने मधेशवादी नेताहरु लामो समयसम्म सरकार बाहिर रहनै सक्दैनन् । विगतलाई फर्केर हेर्ने हो भने त्यही देखिन्छ ।संविधान संशोधन,नागरिकता, मुद्दा खारेजीलाई मुख्य मागको रुपमा अगाडि सारेका छन् । ठाकुर पक्षले उठाएका माग र उनीहरूले पाएको जिम्मेवारी हेर्दा तालमेल देखिदैन।

उनीहरुको मागको प्रकृति हेर्दा गृह र कानुन मन्त्रालय महत्त्वपूर्ण थियो। तर विकास मन्त्रालयमा खर्चका ढोकाहरु खुल्ला हुने भएपछि उनीहरु त्यतैतिर लोभिएको देखिन्छ । जसपाले सम्हालेका मन्त्रालय प्राय अनियमिततामा जोडिएर विवाद भइरहने मन्त्रालय हुन्।

प्रधानमन्त्री ओली अहिले पार्टी र सरकार दुबैमा सङ्कटमै छ। जसपाको ठाकुर समूहको अवस्था पनि त्यस्तै छ। उपलब्धिहीन मन्त्रालय लिएर सरकारमा सहभागी हुनु बाध्यता झैँ देखिन्छ।आफ्ना राम्रा मन्त्रीहरुलाई हटाएर सत्ता टिकाउनकै लागि जसपालाई सरकारमा सहभागी गराउनु ओलीको बाध्यता हो ।

मधेशवादी नेताहरु आफ्नो रणनीति पूरा भएपछि सरकारमा बस्ने देखिदैन । उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र महतोले शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन संचालन गरिरहेको भनाईले राजनीतिमा नयाँ तरंग उत्पन्न गराएको छ ।नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने दलका नेताहरुले समेत बताएका छन् ।