एउटा मन्त्रीले पार्टीलाई तिर्ने लेबी मात्र ९ लाख, जाँदाजाँदै परराष्ट्रमन्त्री ज्ञवालीले गरे विवरण सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्रीबाट विदा भएपछि एमाले नेता प्रदीप ज्ञवालीले ९ लाखभन्दा बढी रकम पार्टीलाई लेबी बुझाएको विवरण सार्वजनिक गरेका छन् ।

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको जानकारी गराउँदै उनले यस अवधिमा विदेश भ्रमण बापतको लेबी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेबी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा गरेको विवरण सार्वजनिक गरेका हुन् ।

पारिश्रमिकको कर ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ सरकारी कोषमा दाखिला भएको पनि उनले जानकारी दिएका छन् । हाल खातामा ७ लाख ४१ हजार ७ सय ७५ रूपैयाँ बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनको भनाइ छ।

प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार बिहानै छाड्ने जानकारी पनि उनले एक वक्तव्यमार्फत् गराएका छन् ।

यस्तो छ वक्तव्यको पूर्ण पाठ-
यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद । भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८