एकता वा नयाँ पार्टी गठनको निर्णय छिटो गर्न खनाल–नेपालमाथी खनिए केन्द्रिय सदस्य, ढुलमुले नीति लिए सकिने केन्द्रिय सदस्यको राय, कस्ले के भने ?

एमाले विभाजन हुने वा नहुने भन्ने विषय अझै निर्णय हुन सकेको छैन । माधव समूह भित्रै एमाले विभाजन गर्ने नगर्नेबीच टकराव भएपछि फुटको चरणमा प्रवेश गरेको छ । यता बिहिबारबाट सुरु भएको खनाल–नेपाल समूहको बैठकमा वारपारको निर्णय लिन दवाव दिइएको छ । समितिको बैठक शुक्रबार समेत जारी रहने छ । जसको लागि नेतृत्वले के निर्णय गर्छन भन्ने चासो दिइएको छ ।
बिहीबार केन्द्रीय कमिटी बैठकमा बोलेका ४० जना केन्द्रीय सदस्यमध्ये अधिकांशले निर्णय दिन ढिलाइ गर्दा कार्यकर्ता पंक्तिमा झन् निरासा बढ्ने भएकाले यथाशीघ्र निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, निरज आचार्य, राजेन्द्र राई, सुरेन्द्र मानन्धर, जीवनराम श्रेष्ठ, परशुराम मेघी गुरुङ, गरिमा साहलगायतले नेतृत्वलाई कार्यकर्ता पंक्तिमा निरासा बढेकाले यथाशीघ्र निष्कर्षमा पुग्न सुझाव दिएका हुन् ।
बैठकको सुरुवातमा नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । उनले एकताका लागि भइरहेको अनौपचारिक संवादलाई सकारात्मक भनेका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेता झलनाथ खनालले नयाँ पार्टी घोषणामा ढिलाइ गर्न नहुने मत राखेका छन् । पुराना पुस्ताबाट नयाँ जोसको आन्दोलनको नेतृत्व प्रभावकारी हुन नसक्ने भन्दै उनले नयाँ पुस्तालाई त्यसको जिम्मेवारी सम्हाल्न पनि आग्रह गरेका थिए ।
‘पार्टीभित्र समस्या हुँदैमा तपाईंहरू निरास हुनुपर्ने अवस्था छैन । दक्षिणपन्थी भासमा लागेका ओलीले पार्टीलाई ध्वस्तै बनाउनेछन् । त्यसैले उनको जालझेलमा हामी फस्नु हुँदैन,’ झलनाथ खनालले बैठकमा भनेका थिए ।

बैठकमा नेता भीम रावलले पनि एकताको वार्ताबारेको प्रगति आफूलाई जानकारी नभएको भन्दै नयाँ कदमबारे छिट्टै निष्कर्षमा पुग्नुपर्ने मत राखेका थिए । ‘एकताका लागि भइरहेका प्रयासका उपलब्धिबारे मलाई केही पनि जानकारी छैन । छलफलमा सहभागी भएका साथीहरूले यसबारेमा बोल्नुहोला । हामीले नयाँ कदम चाल्न ढिला गर्दा कार्यकर्ता पंक्तिमा निरासा बढिरहेको छ । कार्यकर्ताहरूको उत्साहलाई मर्न नदिन हाम्रो निर्णय यथाशीघ्र हुन जरुरी छ,’ रावलको बैठकमा मत थियो ।
रावलले एकता प्रयासका उपलब्धिबारे जानकारी नभएको बताएपछि नेता घनश्याम भुसालले वार्ताबारे बैठकलाई जानकारी गराएका थिए । ‘अनौपचारिक संवादमा हामीले २ जेठ २०७५ को बटमलाइन छाडेका छैनौँ । त्यसलाई पार्टी अध्यक्षले कसरी औपचारिकता दिनुहुन्छ त्यसबाट मात्रै एकताको अवस्थाबारे भन्न सकिन्छ । अहिले ढुक्क हुने अवस्था छैन,’ भुसालको भनाइ थियो ।

बैठकमा नेता सुरेन्द्र पाण्डेले एकताका लागि प्रयास जारी राखेपनि त्यसले सार्थकता पाउनेमा भने शंका व्यक्त गरेका थिए । हामीले एक–दुई दिन कुरौं । परिणाम निस्किएको अवस्थामा मात्रै छलफलका कुरा बाहिर ल्याउँ भन्ने प्रस्ताव गरेका थियौँ । पार्टी एकता जोगाउन सकिन्छ कि भन्ने हाम्रो कसरतमा सार्थकता पाउनेमा अब आशावादी हुने ठाउँ देखिएन,’ पाण्डेको भनाइ थियो ।

बैठकमा नेतृ रामकुमारी झाँक्रीले वार्तामा अल्झिएर मात्रै समस्याको समाधान नहुने बताइन् । एकताका लागि डेडलाइन तोक्नुपर्ने अन्यथा नयाँ विकल्पमा जानुपर्ने सुझाएकी छिन् । ‘पार्टीको नवौँ महाधिवेशनका कमिटी ब्युँताउन भइरहेको ढिलाइले एकता निष्कर्षमा पुग्छ भन्ने अझै पनि शंका छ । अब डेडलाइन तोकेरै अघि बढ्नुपर्छ । त्यस मितिभित्र सम्भव नभए नयाँ विकल्पमा जान ढिलाइ गर्नु हुँदैन,’ उनको भनाइ थियो ।

बैठकमा केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरले नवौँ महाधिवेशनको सांगठनिक र राजनीतिक विचारलाई अंगीकार नगरेको अवस्थामा एकताको अर्थ नहुने बताएका थिए । उनले नेतृत्वलाई यथाशीघ्र निर्णयमा पुग्न सुझाएका छन् । ‘जिल्ला–जिल्लामा निर्वाचित साथीहरूको जिम्मेवारी खोसिएको छ । केन्द्रमा संस्थापकहरू नै साधरण सदस्यबाट निष्कासित हुनुपर्ने परिस्थतिमा हामी एकताको नाममा समय खेर फालिरहेका छौँ । ओली पक्ष हाम्रा मागमा तयार भएको भए एकता गरौँ अन्यथा छिट्टै नयाँ विकल्पमा जाऔँ,’ उनको सुझाव थियो ।

नेपाल समूहले भ्रातृ संगठन र जनवर्गीय संगठनहरूसँगको छलफल सकिसकेको छ । उनीहरूले पनि नयाँ विकल्पमा जान धेरै ढिलाइ नगर्न सुझाव दिइसेकका छन् । नयाँ पार्टी घोषणाका लागि दबाब बढेपछि नेता नेपालले मंगलबार आफूले छिट्टै नयाँ पार्टी घोषणा गर्ने भन्दै आउने समाहित हुने, नआउने छुट्ने उद्घोष गरेका थिए ।