२८सयको बिन्दुबाट यसरि लाग्दै छ सेयर बजार ओरालो ?

काठमाडाैं । छोटो समयमा कतिपय कम्पनी र समूहमा भाउ बेस्सरी बढेपछि ट्रेडरहरुले नाफा बुक गरेको अनुमान गरिएको छ । जसका कारण अघिल्ला दिनहरुमा सूचक केही प्रभावित भएको हो । हाम्रो बजारमा पछिल्ला दिनहरुमा ट्रेडरहरु पनि निकै सक्रिय रहेको लगानीकर्तहरु बताउँछन् । अहिले त अझ थोरै नाफामै छिटोछिटो बुक गर्ने प्रवृत्तिसमेत विकास भएको पाइन्छ । सोही आधारमा बजार अलिकति बढेपछि सूचक फेरि तल झर्ने गरेको हो ।

कतिपय विश्लेषक र ट्रेडरहरु भने केही बढेपछि बजार करेक्सन हुन जरुरी हुने बताउँछन् । करेक्सन हुँदै अघि बढेको बजार दिगो, भरपर्दो र बलियो हुने उनीहरुको भनाई रहेको छ । त्यसो त केन्द्रीय बैंक र अर्थ मन्त्रालयले समेत कारोबारी प्रवृत्तिलाई निरुत्साहित गरी दीर्घकालीन लगानीतर्फ उत्प्रेरित गर्न चाहेका छन् । सोही अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई १ वर्षभन्दा कम अवधिका लागि सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै, अर्थ मन्त्रालयले पनि १ वर्ष भन्दा कम अवधिको सेयर कारोबारमा पुँजीगत लाभकरको दर बढाइदिएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४५.२५ अंक अर्थात १.६० प्रतिशत घटेर २७८२.६८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत अर्थात ६.५८ अंक घटेर ५००.४७ विन्दुमा झरेको थियो।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। यस दिन २१८ कम्पनीको १ लाख ४८ हजार ७१५ पटकको कारोबारमा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन हालसम्मकै उच्च १७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी विकास बैंकको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको थियो।

यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य घटेको छ। शेयरमूल्य घटेका १० शीर्ष कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु नै रहेका छन्। जसमध्ये बरुण हाइड्रोपावर शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको थियो।