सम्पति शुद्धीकरणले गर्याे रोक्का शहकारी मार्फत जनाताको पैसा हिनामिना गर्ने तामाङ विरुद्ध १ अर्बको मुद्दा

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङको सबै बैंक खाता रोक्का गरेको छ। तामाङ सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर व्यक्तिगत लाभ आर्जन गरेको भन्दै विभागले उनका सबै सम्पत्ति रोक्का गरी छानविन अघि बढाएको हो ।

‘तामाङले सिभिल सहकारीको रकम लिएर विभिन्न संस्थामा लगानी गरेको फेला परेको छ,’ विभाग स्रोतले भन्यो, ‘त्यति मात्रै नभई तामाङले सहकारीमा बचतकर्ताले जम्मा गरेको १ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरी घरजग्गा र बैंकिङ क्षेत्रमा लगानी गरेको समेत भेटिएको छ।’
तामाङले विभिन्न व्यक्तिका नाममा बैंकमा रकम राखेको र श्रीमतीको नाममा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १२ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको तथ्य फेला परेको विभाग स्रोतले दाबी गरेको छ।

तामाङले श्रीमती सृजना शाक्यसँग कागजी रूपमा सम्बन्ध विच्छेद गरिसकेका छन्। हिनामिना गरेको रकमको हिसाब ‘क्लियर’ गर्नकै लागि उनले कानूनी रुपमा सम्बन्ध विच्छेद गरेको दाबी विभागले गरेको छ। ‘सबै विवरण तयार पारेपछि विभागले तामाङसँग बयान लिने अन्तिम तयारी गरेको थियो,’ स्रोतले भन्यो, ‘तर पछिल्लो समय राजनीतिक दबाबका कारण बयान लिन सकिएको छैन। यो विषयलाई गुपचप राखेर रोक्का भएको खाता फकुवा गर्न समेत माथिल्लो तहबाट दबाब दिइएको छ।’


नेकपा एमालेका पूर्वसांसद तामाङ घरजग्गा व्यवसायी र सिभिल बैंक सञ्चालक समितिका अध्यक्षसमेत हुन् । तामाङले सिभिल होम्स नेपाल नामको घरजग्गाको कारोबार गर्ने कम्पनी सञ्चालन गर्दै आएका छन् । उनी सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्था पछिल्लो दुई वर्षदेखि वित्तीय चुनौती र आर्थिक समस्याबाट गुज्रिरहेको छ ।बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि तामाङले २०७६ जेठमा सार्वजनिक कार्यक्रम गरेर अरु सहकारीलाई सहयोग गर्न आग्रह गरेका थिए।

सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा अहिले पनि मुद्दा चलिरहेको छ । सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनीरुपमा प्रवाह गरी संस्थालाई धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्यहरु अदालत पुगेका हुन् । बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् । सिभिल सरकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ३० करोड भन्दा बढी ऋण पनि लामो समयदेखि तिरेको छैन । तामाङ अध्यक्ष रहेको सिभिल बैंक अहिले वित्तीय सूचकका आधार सबैभन्दा कमजोर देखिन्छ ।