एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित माछा बजार ईलाकाबाट असार १३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।
ज ९ प ३८ नम्बरको मोटरसाइकल र अर्को एउटा नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा सुर्तिजन्य पदार्थ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख ८७ हजार ६ सय रुपैयाँ रहेको छ ।