१ करोडले ८ किलोमिटर ट्रयाक

सिस्ने गाउँपालिका –२ नायगाड भएर सिस्ने –१ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ । रु एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ५० लाख बजेटमा उक्त ट्रयाक खोलिएको सिस्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

यस्तै गत आर्थिक वर्षमा पनि गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ४० लाख गरी रु ९० लाख बजेटमा चार किमी बाटो खनिएको थियो ।

अहिले नायगाडतर्फ पूर्व पुथा –१४ जामाबगरबाट र पश्चिम देउखोलाबाट खडक खन्ने काम भइरहेकोे वडाध्यक्ष केसीले बताए ।

देउखोला–नायगाडको बीच खण्डमा ब्लाष्टिङ गरी निर्माण सेवा कम्पनीले बाटो खन्ने काम गरिरहेको छ ।

सडक नपुगेका कारण विभिन्न आवश्यक सामग्री अभावका साथै कडा चट्टानका कारण ट्रयाक खोल्न निकै समस्या झेल्नुपरेको बताइएको छ ।

अब जिल्ला सदरमुकाम रुकुमकोट, बालुवा–देउखोला–नायगाड–जामाबगर भएर कोलसँग जोडिँदै छ भने नायगाड–सिस्ने–डोल्पासँग जोडिँदै छ ।

हाल सडक नपुगेकाले त्यस ठाउँका नागरिकले सामान ढुवानीमा सास्ती खेपिरहेका छन् ।

डोल्पातर्फ जोडिने सडक र कोलसँग जोडिने सडक जोडियो भने व्यापार व्यवसाय फस्टाउने स्थानीयवासीले बताएका छन् ।

यी सडकखण्डमा पर्ने विभिन्न क्षेत्रमा मनोरम पर्यटकीयस्थल अथाह रहेकाले सडक पुगेमा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको प्रवक्ता केसीले बताए ।