चोरी भएका ३० मोटरसाइकल लकडाउनकाे समयमा खोजेर प्रहरीले जिम्मा लगाए

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौका विभिन्न स्थानमा चोरी चकारीका कारण हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ ।


महाशाखाबाट सादा पोसाकमा गोप्य तरिकाले खटाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन मोटरसाइकलहरु लकडाउनको समयमा पनि खोजतलास जारीराखी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

उपत्यकामा मुख्यरुपमा भिडभाड हुने स्थान म्हैपी, बालकोट, कीर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्‍ठ, गोकर्णेश्‍वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्‍वर, ठमेल, ट्रमा सेन्टर, नक्साल, जमल , भोटाहिटी , कमलपोखरी , महाराजगंज, नयाँबस्ती, कीर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाए ।

महाशाखाका प्रमुख एसएसपी ढकालले भने, ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन् ।’

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए ।

मंगलवार श्यामबहादुर खाती,बालकृष्ण श्रेष्ठ,दिपेन्द्र कुँवर,रिना मगर, सञ्जय महत्तो,धन कुमार चेम्जोङ, विश्‍व कुमार बस्नेत, रोजन श्रेष्‍ठ, अनिल थापा, पुरन राई,राम कुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वणकार, मिमांसा महर्जन, बम बहादुर विश्‍वकर्मा, अन्त प्रसाद श्रेष्‍ठ (पाल्पा), राम कुमार शाही, बेल बहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम केसी, गणेश कुमार गिरी, भाेजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले यस आर्थिक वर्ष २०७६–०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारवाही गरिसकेको छ ।