जिल्लामै पहिलो पटक तीनवटा बचत तथा ऋण सहकारी एकिकरण भएर कारोवार संचालन
लमजुङ। लमजुङमा बित्तीय सहकारीको रुपमा कारोवार गर्ने गरी दर्ता भएर सञ्चालनमा रहेका तीन भिन्न भिन्न बचत तथा ऋण सहकारी संस्था एक आपसमा एकीकरण भएका छन् । यस अघि सम्पदा बचत तथा ऋण सहकारी संस्था, कालिका बचत तथा ऋण सहकारी संस्था र कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था नाम भएका सहकारी संस्था एकीकरण भई कालिका बचत तथा ऋण सहकारी संस्थाको नामबाट बेसीशहर नगरपालिकाबाट संयुक्त कारोबार शुभारम्भ गरिएको हो । । सहकारी एकीकरणका लागि राज्यले लिएको नीति र संघले साकोस एकीकरणका लागि थालेको अभियानलाई आत्मसाथ गदै लमजुङमा पहिलो पटक तीनवटा सहकारी एकीकरण भई सबल साकोस अभियानको उदाहरण प्रस्तुत भएको छ ।
एकीकृत कालिका साकोसका अध्यक्ष शिवराज सिलुवालले एकीकरण पछि कालिका साकोसको ४ करोड शेयर पूँजी, ३३ करोड ५० लाखको कारोबार र ३२ जना कर्मचारी कार्यरत रहेको जानकारी गराउनुभयो । असार ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेको कालिका साकोसबाट तत्कालका लागि ४ वटा सेवा केन्द्रमार्फत ७ वटा स्थानीय तहमा वित्तीय सेवा पुर्याउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।
बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले बेसीशहर–८ शेरास्थित कार्यालय र कालिका चोकमा रहेको कार्यालय उद्घाटन गर्दै एकीकरणले सहकारी संस्था बलियो बन्न, सदस्य केन्द्रीत कारोबार गर्न र उत्कृट सहकारी बनाउन सफलता मिल्ने बताउनुभयो ।
एकीकृत कारोवार शुभारम्भ कार्यक्रममा संयोजन तथा एकीकरण समितिका संयोजक मृगेन्द्र घिमिरेले संस्था वलियो बनाउन, सदस्यको विश्वास जित्न र राज्यको नीतिलाई समेत सहयोग पुर्याउन लकडाउनको समय उपयोग गर्दै एकीकरण गरिएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया