अहिले ११ बजे सर्वदलीय बैठक बस्दै,सहमति जुट्ला कि नजुट्ला?

काठमाडाैँ। सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

संसदको गतिरोध खुलाउने विषयमा सहमतिमा पुग्न र सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने विषयलाई निस्कर्षमा पुर्‍याउन आज सर्वदलीय बैठक बस्न लागेकाे हाे। बैठक अहिले ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बस्दैछ।

मंगलबार नै दिउँसो २ बजे बैठक बसेर समितिको कार्यादेश, क्षेत्राधिकार र संरचना टुंगो लगाउने तयारी थियो। तर उक्त बैठकमा ओलीको अनुपस्थितिका कारण बस्न सकेन।संसद्‌ बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकार पक्ष सकारात्मक बनेको थियो।

एमालेकै मागअनुसार सत्तापक्ष जाँचबुझ आयोग गठनका लागि लचक बने पनि मंगलबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नभएका हुन् । मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पनि ओली उपस्थित भएनन् । राष्ट्रपतिले बोलाएको बैठकमा अनुपस्थित भएकामा आलोचना भएपछि ओलीले स्वास्थ्यका कारण जनाएर सर्वदलीय बैठकमा समेत उपस्थित नभएको सत्तापक्षीय नेताहरूको भनाइ छ ।

दलहरुबीच सोमबार साँझ भएको सहमति अनुसार कार्यदलले समितिको प्रारूप र क्षेत्राधिकारको खाका तयार पारेको छ।बिहान एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको थियो।

मंगलबारको बैठकमा ओलीको अनुपस्थितिप्रति संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

कार्यदलले बनाएको मस्यौदामा सत्तापक्ष र प्रतिपक्षी दुवैका शीर्ष नेताहरू सहमत नभएपछि निष्कर्षमा पुग्न नसकेको हो । सीआईबीले अनुसन्धान सकेपछि काम गर्ने गरी उच्चस्तरीय आयोग बनाउन दलहरू सहमत छन् । तर उच्चस्तरीय आयोगले आवश्यक परेमा सुन तस्करी प्रकरणको पनि अनुसन्धान गर्न पाउनु पर्ने सर्त एमालेले राखेको छ ।