माछाबाट जिविका चलाउँदै बागलुङको तमानका युवा
बागलुङ । तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको ६५० रुपैँयाका दरले बेचे र पैसा बराबर बाँडे ।
भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।” उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाछन । कुनै महिना त माछाबाटै १५÷२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए ।
तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बताए उनका अनुसार दुवाली छेकेर माछा मार्न धेरै जना चाहिन्छ । त्यसरी मारिएको माछाको सबैले बराबरी भाग पाउँछन् ।
“तमानखोलाको असला माछा स्वादिष्ट मानिन्छ, यहाँका प्रायः सबै होटलमा माछाको परिकार हुन्छ”, पुनले भने । धेरैजसो होटल, रेष्टुराँ व्यवसायीले नै माछा खरिद गर्छन् । माछाको सुकुटी बनाएर महङ्गोमा बेच्ने पनि हुन्छन् । बोङ्गादोभान बजारमा मात्र माछा बेचेर जीविका चलाउने २० जनाभन्दा बढी छन् ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला माछाका लागि समेत चिनिने गरेको बताउँछन् । चिसो र स्वच्छ पानीमा हुर्केको भएकाले माछा स्वादिष्ट हुने गरेको उनको भनाइ छ । असला माछा लोप हुने देखेर गाउँपालिकाले पछिल्लो समय माछा मार्न कडाइसमेत गर्न थालेको छ ।
अवैधरूपमा विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न रोक लगाइएको छ । “वडा नं ३ मा त निश्चित समय तोकेर मात्र माछा मार्न पाइने व्यवस्था छ”, उनले भने, “वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ ।” वडा नं ४ को लाम्मेला हुँदै, तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको पुछारसम्मै माछा मारिन्छ ।
गाउँपालिकाको बोङ्गाखोला र खुङ्खानी खोलामा पनि माछा मार्नेहरु भेटिन्छन् । जिल्लाको बडिगाड, निसी, भूजी, दरम, ठेउले, तारा, काठेलगायतका खोलामा असला माछा पाइन्छ । दरमखोलाको असला त कोसेलीका रूपमा विदेशसम्म पुग्छ । सुकुटी पारिएको असला माछा प्रतिकिलो रु सात हजारसम्म पर्छ ।
आलो माछा ८०० रुपैँया देखि एक हजारसम्ममा बिक्री हुने गरेको गलकोट नगरपालिका–७ मल्मका व्यवसायी बाबुराम केसीले बताउनुभयो । उहाँका अनुसार गलकोट नगरपालिका–७, ८ र ९ मा मात्र दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । पछिल्लो समय व्यावसायिकरूपमा माछा पाल्ने क्रम पनि बढ्दो छ । गलकोट र ताराखोलामा ‘रेम्बो ट्राउट फार्म’ समेत छन् ।
प्रतिक्रिया