विधुत भारतबाट आयात गर्न स्वीकृत

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले मागेको भन्दा बढी विजुली भारतसँग किन्न स्वीकृत दिएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०७६र०७७, २ अर्ब ७९ करोड २० लाख युनिट विद्युत आयात गर्नुपर्ने भनेतापनि आयोगले १३ करोड ३७ लाख ३० हजार युनिट बढी विद्युत भारतबाट आयात गर्न स्वीकृति दिएको छ ।

आयोगले २ अर्ब ९२ करोड ६० लाख युनिट विद्युत आयात गर्न स्वीकृत दिएको हो । आयोगले अनुमानित आयातको परिणामलाई सामायोजन गरी सो विद्युत किन्न अनुमति दिएको भनेको छ ।२० अर्ब रुपैयाँको विद्युत आयात गर्ने प्राधिकरणले अब आयोगको निर्णय मान्नुपर्दा अब झण्डै १ अर्ब रुपैयाँ बढी विद्युत आयातमा थप हुने देखिन्छ ।

बढी विद्युत खरिद प्रस्ताव भएपनि कोरोना महामारी कोभिड–१९ को असरले उद्योगधन्दा बन्द भएका कारण विद्युतको मागमा कमी आई भारतबाट हुने आयातमा निकै कमी हुने उसको तर्क छ ।

भारतबाट विद्युत आयात घटाउनुपर्ने र स्वदेशकै उत्पादन खपत बढाउनुपर्ने बहस भइरहेका बेला आयोगले यस्तो निर्णय गरेको छ । विद्युत महसुल दर घटाएर राहत दिएको आयोगले आयात भने बढाएर स्वीकृत गरेको हो ।