जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : खानेपानीमन्त्री मगर
खानेपानीमन्त्री बीना मगरले वर्षांैदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताउनुभएको छ ।
आज बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहँुदै उहाँले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताउनुभयो ।
वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उहाँले बताउनुभयो । “आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उहाँले भन्नुभयो, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”
जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उहाँले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा सहभागी नेकपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले कार्यालय भवन निर्माणले प्रशासनिकसँगै विकास निर्माणका काम अगाडि बढाउन सहज हुने बताउनुभयो । गाउँपालिकाको चारतले भवन रु सात करोडको लगानीमा निर्माण गरिएको छ ।
प्रतिक्रिया