नरभक्षी बाघलाई पाँच घण्टाको प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले लियो नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्जले भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको नरभक्षी बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
शनिबार बिहान वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई बाघले आक्रमण गरेको थियो । उनको शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।
आक्रमण गर्ने भाले बाघ अन्दाजी १० वर्षको रहको र पाँच घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी अशोक रामलेसे बताए ।
निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको संयुक्त प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको पनि उनले बताए ।
औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए । बाघलाई कसराको खोरमा राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो ।
थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया