भक्तपुर अदालतका न्यायाधीश बाँस्तोलाको काममा सर्वोच्च नेतृत्व खुसी, कार्कीले अदालतमै पुगेर गरे प्रशंसा

काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार भक्तपुर जिल्ला अदालतको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले मुद्दा फर्स्योटको अवस्था, अदालत व्यवस्थापन र सेवाग्राहीको सन्तुष्टिलाई लिएर खुसी प्रकट गरेका छन् । साथै अदालतको नेतृत्व गरिरहेका एक नम्बर न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उत्कृष्ट कार्यसम्पादनका लागि धन्यवाद र बधाई पनि दिए । त्यस्तै भवन निर्माणमा भएको प्रगतिलाई लिएर पनि समीक्षा भएको थियो । भवन निर्माणलाई गति दिन न्यायाधीश बाँस्तोलाले खेलेको भूमिकाको पनि सबै पक्षले मुग्धकण्ठले प्रशंसा गरेका थिए । बाँस्तोला आएपछि भक्तपुर अदालतमा धेरै कुरामा परिवर्तन आएको र सहज एवं छिटोछरितो न्याय सम्पादनका काम भइरहेको कर्मचारी, कानुन व्यवसायी तथा न्यायका उपभोक्ताको पनि अनुभव छ।

पूर्ववर्ती कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पनि भक्तपुर अदालतमै पुगेर न्यायाधीश बाँस्तोलाको कार्यसम्पादन क्षमता, कौशल र इमानको यसैगरी प्रशंसा गरेका थिए । अन्य अदालत र न्यायाधीशका लागि पनि उदाहरण भन्दै उनले एउटा नमुना अदालतको विशेषण दिएका थिए । यसबाट अरूले पनि सिक्नुपर्ने उनको धारणा थियो ।एक वर्षमै ७ सयभन्दा बढी मुद्दाको फैसला गरेकामा न्यायाधीश बाँस्तोलाको नेतृत्व सम्हालेपछि देशभरका अदालतमध्ये भक्तपुरबाट सर्वोत्कृष्ट काम भइरहेको दुवै काम प्रधानन्यायाधीशको टिप्पणी छ । त्यसो त स्थानीय , प्रदेश र संघीय तहको निर्वाचन पनि बाँस्तोलाले विवादरहित तवरले गराएका थिए । अन्यत्र मतगणनामा भएको ढिलाइले निर्वाचन आयोग नै आलोचित भइरहँदा भक्तुपरको मतगणना द्रूत प्रक्रियाबाट भएको थियो ।कोभिडकालमा पनि उपत्यका लगायत देशका अन्य अदालतहरुले आंशिक सेवा मात्र दिइरहेका बेला भक्तपुर जिल्ला अदालतले पूर्ण रुपमा सेवा सञ्चालन गर्न विशेष

जुक्ति लगाएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सबै प्रकारका सेवा खुला गर्ने भक्तपुर अदालत नै थियो, जतिखेर काठमाडौँ उपत्यकामै पनि सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र अन्य न्यायाधिकरणहरुले आंशिक सेवा मात्रै दिइरहेका थिए । अनिश्चितकालसम्म आंशिक सेवा सञ्चालन गर्दा सेवाग्राहीलाई मार पर्ने भन्दै बाँस्तोलाले सावधानी अपनाएर पूर्ण सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा त्यसको सर्वत्र चर्चा भएको थियो ।
बाँस्तोला यसअघि कञ्चनपुरलगायतका जिल्ला अदालतमा छँदा पनि कुनै सेवा रोकिएको थिएन । अन्य अदालतहरुले बन्द वा आंशिक खुला रहेका बेला समेत कञ्चनपुर अदालतले नियमित सेवा प्रवाहको काम गरेको थियो ।

बाँस्तोला हालसम्म निर्विवाद र निष्कलंक रूपमा न्याय सम्पादन गर्दै आएका उम्दा न्यायाधीश हुन् । काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार पनि भइसकेका उनी उम्दा प्रशासक र व्यवस्थापकसमेत मानिन्छन् । कर्मचारी छँदा होस् या न्यायाधीश हुँदा, हालसम्मका हरेक प्रधानन्यायाधीशले उनको कामको प्रशंसा गरेका छन् । तर पूर्ववर्ती प्रधानन्यायाधीश र हालका प्रधानन्यायाधीश कार्कीद्वयले भक्तपुर अदालतमै पुगेर कार्यसम्पादनको उच्च प्रशंसा गरिरहँदा उच्च अदालत न्यायाधीशको जिम्मेवारी दिन केले छेकिरहेको छ भन्नेचाहिँ जिज्ञासाकै विषय छ । जबकि यसअघि नै तयार पारिएको संक्षिप्त सूचीमा बाँस्तोलाको नाम अग्रपंक्तिमै छ ।