दलित महिला सदस्य भन्छन् : अझैँ समाजमा छुवाछूत गरिन्छ

काठमाडाैँ। टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताउनुभएको छ । वडा सदस्य विश्वकर्मा समाजमा हुने विवाह, उत्सवमा फरक व्यवहार गरिने, भान्सा फरक गरिने गरिएको बताउनुहुन्छ ।

“हाम्रो समुदायमा चार÷पाँच जना गैर दलित महिला हुनुहुन्छ, हामी एउटै समूहमा छौँ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ पिकनिक जान्छौँ, एउटै समूहमा छौँ, तर उहाँहरु हामीले छोएको खानुहुन्न, आफैँ पकाएर खाने, उहाँहरुले पकाएर बरु हामीलाई दिने गर्नुहुन्छ ।” कमलालाई यसो गर्नु विभेद हो भन्ने थाहा भए पनि रोक्न नसकेको उहाँ बताउनुहुन्छ । “यही समाजमा बस्नु छ, पहिलेदेखि विभेद भोगेका छौँ”, उहाँ भन्नुहुन्छ, “विद्रोह गरेमा अशान्ति हुन्छ, मिलेर बसेको समाजमा किन झैँ–झगडा गर्नु भन्ने लाग्छ ।”

गाउँमा जन्मदिन मनाउँदा बोलाएर पनि अलग्गै राखेर खाना खुवाउने गरिएको, विवाहमा भान्सा छुन नदिने जस्ता समस्या विद्यमान रहेको उहाँको अनुभव छ । कार्यपालिका सदस्य मञ्जु विकले पुरुषका तुलानमा महिलाले विभिन्नखाले विभेद झेलिरहेको बताउनुभयो । उहाँले महिनावारी हुँदा छुवाछूत अन्त्य नभएको, दलित र गैर दलितबीचको विभेदसमेत अझँै रहेको बताउनुभयो ।

“छुवाछूत पुरुषको तुलनामा महिलाले बढी मानिरहेका छन्, पुरुष दाजुभाई हामी कहाँ आउने, हामीसँगै खाना खाने गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “तर महिलासँगै खानुहुन्न, हामीले छोएको खान मान्नुहुन्छ ।” अर्का महिला सदस्य भारतीदेवी विक अझै आफ्नो वडामा दलित र गैरदलितबीच विभेद कायम रहेको, विवाह जस्ता भोज तथा उत्सवमा समान व्यवहार नभएको बताउनुहुन्छ ।

“पार्टी तथा कार्यक्रममा फरक व्यवहार महसुस गर्ने भएर म गाउँमा हुने विवाह, ब्रतबन्ध तथा खानपिनका कार्यक्रममा जान्न”, उहाँले भन्नुभयो, “अहिले आफू स्थानीय वडा सरकारमा भएकाले यसो गर्नुहुन्न भनी हरेक कार्यक्रममा भन्न थालेकी छु, समाजमा नदेखिने खालको भित्रभित्रै छुवाछूत कायम छ ।” टीकापुर–४ की वडा सदस्य तुल्सादेवी विक विस्तारै समाज परिवर्तन हुँदै गएको बताउनुहुन्छ । उहाँ परिवर्तन भए पनि पुर्खाले विभेद गरिरहेको बताउनुहुन्छ ।

“विगतजस्तो विभेद छैन, पहिला घरभित्र जान नदिने, धारा छुन नदिने गरिन्थ्यो”, तुल्सादेवीले भन्नुभयो, “युवापुस्ताले छुवाछूत मान्दैनन्, तर अघिल्लो पुस्ताले छुवाछूत अन्त्य गर्न मानेका छैनन्, उनीहरु अझै विभेद गर्छन् ।” नगरपालिकाका निवर्तमान उपप्रमुख केशरी रावल विष्टले समाजमा भइरहेका छुवाछूत तथा विभेद अन्त्यका लागि वडावडामा महिला तथा दलित महिला सदस्य निर्वाचित भइसकेकाले अब उनीहरुले काम गर्नुपर्ने बताउनुभयो ।

“समाजमा विद्यमान गलत अभ्यास चिर्न नीतिगतरुपमा कडाइ गर्नुपर्छ, भएका कानुन कार्यान्वनय गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “जनचेतना जगाउने खालका योजना तर्जुमा आवश्यक छ, यस्ता विभेद, छुवाछूत चिर्नका लागि महिला सदस्य, दलित महिला सदस्य वडावडामा भएका हुन्, उहाँहरुले समस्याको खोजी र समाधानको उपाय पनि निकाल्नुप¥यो ।”

विष्टले जात तथा लिङ्गका आधारमा गरिने सबैखाले विभेद अन्त्य हुनुपर्ने बताउँदै समाजको सकारात्मक विकासका लागि सबैको सोँच पनि सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेकाले छुवाछूत गरिएको थाहा पाए कानुनी पक्रियामा जान सुझाव दिनुभयो । “जात तथा लिङ्गका आधारमा छुवाछूत गर्नु कानुनी अपराध हो”, उहाँ भन्नुहुन्छ, “अपराध लुकाएर बस्ने होइन ।”