गणतन्त्रको विकल्प गणतन्त्र नै हो: मुख्यमन्त्री यादव
काठमाडाैँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताउनुभएको छ ।
सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उहाँले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताउनुभयो । “गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफँै गर्न सक्षम छन् ।
देशहितको अर्थ लोकहित हो । यसमा शङ्का छैन्”, उक्त सन्देशमा भनिएको छ,“जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।”
हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया