लिखु गाउँपालिका बोलेरो दुर्घटना हुदा २ जना घाइते, एककाे अबस्था चिन्ताजनक

ओखलढुंगा-शनिवार बिहान ओखलढुंगाको लिखु गाउँपालिका बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ मा भएको दुर्घटनामा ४६ वर्षका पूर्णबहादुर खड्का र बोलेरो धनी दलबहादुर खत्री घाइते भएका हुन्।

वडाध्यक्ष विशालकुमार पौडेलका अनुसार घाइते पुर्णबहादुर खड्काको अवस्था भने गम्भीर रहेको छ । खड्काको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

बा.२१.च ४५३७ नम्बरको बोलेरो शनिवार बिहान दैनिक उपभोग्य सामाग्री लिनका लागि पोखरीडाँडाबाट सिरिसे जाँदै गरेको तर वडा नम्बर ८ को चेपढुंगामा अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनापछि बोलेरो चालक मोलुङ गाँउपालिका ६ श्रीचौरका २४ वर्षीय एकबहादुर तामाङ भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको र फरार चालकको खोजी भइरहेको छ ।

घाइतेहरुको रामेछापको सिरिसेस्थित एक स्वास्थ संस्थामा उपचार भइरहेको छ।