संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको प्रयास सफल भएन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अर्को विपक्षी दल जनता समाजवादी पार्टीले समेत नपत्याएको खुलासा गरेका छन् । आफूसँग २५ प्रतिशत सांसद नभएको र अरू विपक्षीसँग कुरा गर्दा उनीहरूले नपत्याएको कारण संसदको विशेष अधिवेशन बोलाउन नसकेको उनके स्वीकारोक्ति छ । विशेष अधिवेशन बोलाउने आफ्नो हैसियत नभएकाले नियमित हिउँदे अधिवेशनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको प्रस्टीकरण देउवाले सामाजिक सन्जालमा दिएका छन् ।

कांग्रेस र जसमा मिलेमा २५ प्रतिशत सांसद पुग्छन् । २५ प्रतिशतको हस्ताक्षर भए संसदको विशेष अधिवेशन बोलाउन सकिन्छ । तर उपसभामुख पद प्राप्त गर्ने लोभमा जसपा मौन बसेको छ । कांग्रेसले केही संवैधानिक पदका लागि मोलमोलाइ गरिरहेको छ ।
देउवाको ट्वीट यस्तो छ-

“संसद अधिवेशन बोलाउन मैले पटक पटक पहल गरेको थिए।कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथिहरुसँग पनि यस विषयमा छलफल भएको थियो।तर ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौ।अब तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गर्दछु।”