रातो मच्छिन्द्रनाथको रथलाई सोह्रखुट्टे पाटी पुर्याइयो
ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।
ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो ।
यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ ।
कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो । बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
त्यसयता रथ सडकको बीचबाटैमा थियो। त्यसपछि सरोकारवाला निकाय र गुठी खलः हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो ।
औपचारिकता पूरा गर्न पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए । गाः बहालका ४० जना, वछुत्वा नुगःका ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन् ।
रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते भित्र रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लैजाने तयारी छ ।
प्रतिक्रिया