प्रतिकेजी ४२० रुपैयाँ रहेको कुखुराको मासुको मूल्य २०० रुपैयाँमा झर्याे

काठमाडाैँ-तीन हप्तादेखि जारी निषेधाज्ञाले कुखुराकाे मासुको मूल्यमा गिरावट आएको छ ।

तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको हाे ।

चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको किसानहरुले बताएका छन् ।

प्रतिकेजी खुद्रा ४२० रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले २०० रुपैयाँमा झरेको छ ।

यतिखेर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ जसका कारण कुखुरा निर्यात पुर्ण बन्द रहेकाे हुदा मूल्यमा गिरावट आएको हाे ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्वाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए ।

'४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन', उनले भने, 'कुखुरा र तरकारी एउटै जस्तै हो। लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन ।

अहिले मासु खपत हुने ठाँउ बन्द जस्तै छ ।'नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए ।

समान्यतय ब्रोइलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ ।

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ। प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ ।

उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्‌ । बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ। लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् ।

एउटा चल्लाको हालको मूल्य ३० छ भने लागत मूल्य ५६ रुपैयाँ पर्न आउने व्यवसायीहरु बताउँछन् ।

उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ। यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ।