कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुनेछु : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,’ ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ ।

म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु । उहाँले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराउनु भएको छ ।

विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

उहाँले भन्नुभएको छ,’ ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानीका अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शाक्यले जारी गर्नुभएको विज्ञप्तिमा भदौ १४ गते आइतबार उहाँको धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

चिकित्सकको सल्लाह अनुसार नै हामी दुबैले पिसिआर परीक्षणका लागि स्वाब दिएका थियौँ । धर्मपत्नीको परिक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उहाँले भन्नुभएको छ, ‘सोमबार अस्पतालबाट हामी दुबैको पिसिआर रिपोर्टबारे जानकारी प्राप्त भयो ।

अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’

उहाँले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराउनु भएको छ । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ ।

अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमै भन्नुभएको छ, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु ।

होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

उहाँले विज्ञप्ति मार्फत लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान दर्शाउनु भएको छ ।

कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अबस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु,’ उहाँले थप भन्नुभएको छ, ‘काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई उहाँले आत्मसात् गरेको भन्नुभएको छ । ‘विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई पनि मैले ग्रहण गरेको छु ।

सबैका शुभेच्छालाई यहि अपिलमार्फत धन्यवाद भन्न चाहन्छु,’ ‘मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु ।

उहाँले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गर्नुभएको छ ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ ।