कालीमाटी तरकारी बजारको भीडमा कोरोनाको जोखिम उच्च
काठमाडौं । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।
जति सुकै सुरक्षा सावधानी अपनाए पनि कालीमाटी तरकारी बजारको भीड देख्दा सामान्य अवस्थाको झै लाग्दछ । खाद्यान्न भन्दा पनि तरकारी पसलमा दैनिक जस्तै हुने भीडले नै संक्रमणको जोखिमलाई बढाइरहेको छ । स्थानीय प्रशासनले पसल खोल्न विहान सवा नौ बजेसम्म तोकेको अवधिसम्म प्राय सबैजसो तरकारी पसलमा बाक्लै भीड हुने गरेको देखिन्छ ।
त्यहा जाने ग्राहक र बिक्रेताले समेत कुनै स्वास्थ्य सुरक्षा अपनाएको देखिदैन । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो ।
यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन । देशको चारैतिरबाट फलफूल तथा तरकारी आयात हुने कालीमाटीमा खरिदका लागि ग्राहकहरु पनि चारैतिरबाट पुग्ने गरेका छन् । उनीहरुबाटै संक्रमण बढ्ने संम्भाबना बढी हुन्छ ।
कसरी हुन्छ कालीमाटीको भीड कम गर्न सरकारले ढिला गर्नु हुँदैन । हरेक दिन काठमाडौँ उपत्यका र अझै बढी काठमाडौँ जिल्लामा भाइरसका बिरामी बढ्दोरुपमा थपिने क्रम जारी छ । दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।
आफ्नो नजिकको बजारभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।
हुन त कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साहन गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो ।
तर, सोही सूचनाको पालनामा पनि समस्या देखिएको छ । तरकारी बजारको भीड कोरोना संक्रमणको माध्यम नबनोस् भन्ने तर्फ हामी सबै सजक हुनै पर्छ ।
प्रतिक्रिया