प्रहरी हिरासतमा ज्यान गुमाएका बिजयराम चमारको शव काठमाडौँ ल्याइयाे
काठमाडौं-अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका रौतहटका बिजयराम चमारको शव काठमाडौँ ल्याइएको छ ।
प्रहरी हिरासतमा रहेको बेला स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा बिजयराम चमारले ज्यान गुमाएकाे बताइएकाे छ ।
प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरजप्रताप सिंहका अनुसार चमारको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको हाे ।
चमारको मृत्यु बुधवार मध्यराति वीरगञ्जको नेशनल मेडिकल कलेजमा भएको थियो ।
रौतहटका निरञ्जन राम चमारको साउन ३१ मा हत्या भयो । हत्या गरिएका निरञ्जनका साथी हुन् बिजयराम चमार ।
साउन ३२ मा पक्राउ गरेर प्रहरी हिरासतमा राखिएका विजयको स्वास्थ्यमा समस्या देखियो ।
पक्रेको भोलिपल्ट प्रहरीले उनलाई स्थानीयले अनामिका अस्पतालमा भर्ना गरेको थियो ।
मिर्गौलाको समस्या देखिएपछि अनामिका अस्पतालले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठायो ।
उपचारकै क्रममा विजयको नेशनल मेडिकल कलेजमा मृत्यु भयो ।
उनको मृत्युपछि बिहिबार दिनभर आफन्तले घटना छानविनको माग गरेर ईलाका प्रहरी कार्यालय गरुडामा घेराउ गरेका थिए ।
स्थानीय प्रशासन र आफन्त बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएपछि विजयरामको शव काठमाडौँ पठाइएको डिआईजी सिंहले बताए ।
पोष्टमार्टम रिपोर्ट आएपछि थप आन्दोलन गर्ने वा आन्दोलन स्थगित गर्नेबारे निर्णय लिइने बिजयका आफन्त जवाहर रामले बताए ।
प्रतिक्रिया