उपत्यकामा निषेधाज्ञा बढाउने तयारी : तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी

काठमाडाैँ-जारी लकडाउन (निषेधाज्ञा) सकिनु अघिल्लो दिन आज म‌ंगलबार काठमाडौं,भक्तपुर ललितपुर जिल्लाका जिल्ला प्रमुख बैठक बसेका छन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनितिबारे छलफल हुने बताइएको छ ।

यसअघि भदौ ३ देखि १० सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितिले आज निषेधाज्ञा थप्ने बारे निर्णय गरेकाे हाे ।

तीनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकले उपत्यकाकाे निषेधाज्ञाको समयसीमा थप गर्नुपर्ने बताउँदै आएकाे छ ।

यसका अलवा उपत्यका नगरपालिका फोरमले पनि निषेधाज्ञाको समयाविध बढाउनुपर्ने बताउँदै आएकाले निषेधाज्ञाको समयावधि बढ्न सक्ने आँकलन गरिएको छ ।

काठमाडौं जिल्ला प्रमुखका अनुसार निषेधाज्ञाका कारण उपत्यकामा कोरोना भाइरस संक्रमण चेन ब्रेक भएको छ ।

यसका अलवा उनले अब आधारभूत रुपमा संक्रमणको दर घट्ने बताए । प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।