पुजारी श्रीराम साहको हत्या प्रकरणमा प्रहरीकाे अनुसन्धान ब्यापक

काठमाडौं-रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान ब्यापक बनाएकाे छ ।

प्रहरीले अनुसन्धान ब्यापक बनाएकाे भएतापनी अभियुक्तको पहिचान अझै हुन सकेको छैन ।

अज्ञात समूहले भदौ ३ गते राति गोली प्रहार गरेर पुजारी साहको हत्या गरेका थिए ।

प्रहरीले अज्ञात समूहलाई खाेजी गरेर ज्ञात गराउन लागिपरेकाे बताएकाे छ ।

शान्त स्वभावका रहेका भनिएका पुजारीको हत्या आरोपमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

पुजारी हत्याकाण्ड अनुुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयको टोलीसमेत सक्रिय छ ।

हत्या धार्मिक कारणले नभइ अन्य कारणले भएको हुनसक्ने प्रहरीकाे प्रारम्भिक बुझाइ रहदै आएकाे छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह हत्या हुनसक्ने सम्भावित कारणको गहन अनुसन्धान गरिरहेको बताउँछन् ।

उनले भने,“आर्थिक, राजनीतिक, धार्मिक वा व्यक्तिगत कारणले हत्या भएको हुनसक्ने सम्भवना छ । सबै कारणमा सुक्ष्म अनुसन्धानमा जुटेका छौं । छिट्टै हत्यारालाई कानुनी दायरामा ल्याउछौं । अहिले नै हामी धेरै कुरा बोल्न चाहदैनौं ।”

साहले आफ्नै खर्च र आफ्नै घरबाट एक किलोमिटरको दुरीमा ०७६ जेठमा हनुमानको मन्दिर स्थापना गरेका थिए ।

सोही मन्दिरमा उनी आफैँ पुजारी रहेका थिए । उनी मन्दिरमा एक्लै बस्दै आएका थिए ।

घटना योजनावद्ध ढङ्गले नै भएको हुनसक्ने प्रहरी अनुमान छ । पुजारी साहकी श्रीमतीको मृत्यु भइसकेको छ भने छोराछोरीसमेत छैनन् ।