उपत्यकामा २८ हजारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने, स्थानीय तहका सेवा १५ गतेसम्म स्थगित

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौँ, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ ।

यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताउनुभयो । उहाँले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिनुभयो ।

‘पीसीआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गर्र्छौ । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला ।’
त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ, उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’

उहाँले निषेधाज्ञाको अवधी भित्रै कन्ट्राक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताउनुभयो । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उहाँले भन्नुभयो, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ ।’

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राख्नु भएको थियो ।

बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताउनुभयो ।

काठमाडौँ भित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ,’ उहाँले भन्नुभयो, हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।

उहाँले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समूदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो ।

‘ट्रेस टेस्ट आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस् हामी समयोग गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ । मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ । उहाँले धेरै भन्दा धेरै टेस्ट गर्न पनि सुझाव दिनुभयो ।

स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको जानकारी दिनुभयो । ‘

अहिलेको आवश्यकता भनेको समूदायमा जान सक्ने खतरालाई रोक्ने नै हो,’ उहाँले भन्नुभयो, हामी सहजीकरण गर्न तयार छौँ,’ ‘काम तपाईँहरु गर्नुहोस् ।’ उहाँले कोटेश्वर, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा बढी संक्रमित देखिएको भन्दै लगातर वृद्धि भएको स्मरण गराउनुभयो ।

स्वास्थ्य सेवा विभाग डाक्टर अमिति पोख्रेलले कन्ट्याक्ट टे«सिङबाट चेन व्रेक गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताउनुभयो ।