मदिरा पसल बन्द गराउँदै गएको प्रहरी र स्थानीयबीच तनाव

मदिरा पसल बन्द गराउँदै गएको प्रहरी र स्थानीयबीच विवाद हुँदा बुधबार राति मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा चार घण्टासम्म अवस्था तनावग्रस्त बनेको छ ।

मदिरा पसल बन्द गराउने क्रममा नमानेपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा साँझ ७ बजेबाट तनाव सुरु भएको हो।

सयौंको संख्यामा भेला भएका स्थानीय बासिन्दाले घटनाको विरोधमा आँपगाछी प्रहरी चौकी घेराउ गर्दै ढुंगामुढा र तोडफोड गर्न थालेका थिए ।

प्रहरीको विरोधमा उत्रिएकाले चौकीलाई घेराबारा गरिएको बाँसको टाटीले बनाएको बार भत्काइदिएका छन् ।

त्यस क्रममा नेपाल प्रहरीका असइ (सहायक निरीक्षक) सन्तोष यादव घाइते भएका छन् ।

प्रहरी चौकी घेराउ गर्दै तोडफोडमा उत्रिएकाहरुले प्रहार गरेको ढुंगा लागेर यादवको टाउको फुटेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर पनि गरिएको छ।

‘कोरोना महामारीका कारण भीडभाड हुन नदिने र मानिसको आवतजावत रोक्ने काम भइरहेको थियो। त्यस क्रममा मदिरा पसलहरु खुल्ला रहेको पाइएपछि बन्द गराउन गएको प्रहरी टोलीसँग स्थानीयको बादविवाद भयो’, एसपी खड्काले भने, ‘त्यसको विरोधमा पाँच-सात सयको संख्यामा उत्रिएकाहरुले प्रहरी चौकी घेराउ गर्दै आक्रमण र तोडफोड गर्न थाले। स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नु पर्ने अवस्था आयो।’

स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। ठूलो संख्यामा सशस्त्र प्रहरी पनि परिचालित थियो । प्रहरीले छलफल गरेर समस्याको समाधान खोज्नु पर्ने कुरामा जोडि दिँदै सबैलाई सम्झाईबुझाई गरेर पठाएपछि राति ११ बजेपछि तनाव साम्य भयो ।

वडाअध्यक्ष महानन्द मण्डलले कोरोना महामारीका कारण कडाइ गर्ने निर्णय भए पनि सम्झाईबुझाई गर्नु पर्ने ठाउँमा प्रहरीले सुरुमा लठ्ठी प्रहार गरेकाले तनाव सुरु भएको बताए ।

‘कोरोना नियन्त्रणका लागि भीडभाड र आवागमन रोक्ने सर्वपक्षीय सहमति भएको थियो’, उनले भने, ‘तर सम्झाईबुझाई नगरिकन सुरुमै प्रहरीले लठ्ठी प्रहार गर्न थालेपछि अवस्था तनावग्रस्त बन्यो ।’

मण्डलले प्रहरीको लठ्ठी लागेर स्थानीय केहीलाई चोटसमेत लागेको बताए। छलफल गरेर समस्याको समाधान खोज्ने सहमति भएपछि अवस्था सामान्य बनेको र विरोधमा उत्रिएकाहरु आआफ्नो घर गएको उनको भनाइ छ।