काठमाडौँमा पाँच हजार क्षमताको एकीकृत आइसोलेसन निर्माणको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनु भएको छ ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिनुभएको हो । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिनुभएको छ ।
शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गर्नुभएको छ ।
‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।
‘हाल महामारीका रुपमा फैलिदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ । आजका दिनसम्म नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन् ।
कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ,।
हालसम्म प्राप्त पछिल्ले तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन् ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक छ ।’
उहाँले जारी गरेको विज्ञप्तिमै भनिएको छ– काठमाडौँ महानगरपालिका संघीय राजधानी समेत भएकाले यहाँ ७७ वटै जिल्लाका नागरिक विभिन्न पेशा–व्यवसायमा संलग्न भएर बस्ने गरेका छन् ।
हामीले यो सम्वेदनशीलतालाई राम्ररी बुझेका छौँ । यस्तो अवस्थामा कोरोना संक्रमण नियन्त्रण बाहिर गयो भने यसको असर मुलुकभरी नै पर्ने निश्चित छ । ’
शाक्यले सरकारले सुरुमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै काठमाडौँ महानगर र सम्पूर्ण उपत्यकावासीले उपत्यकालाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उपत्यकाबासीको सहनशीलतालाई स्वागत गर्नुभएको छ । लकडाउन हटे पनि कोरोना हटेको होइन ।
पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परिक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘जनशक्ति, तालिम र स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्त रूपमा व्यवस्था गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उचित परिचालन गरी सेवा विस्तारमा ध्यान दिनु अहिलेको आवश्यकता हो । त्यसलाई प्राथमिकतामा राखी कार्य अघि बढाउन केन्द्रसरकारसँग अपिल गर्दछु ।
प्रतिक्रिया