सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार
बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा दुई जनाको मृत्यु भएको छ ।
अहिले बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीड छ । पछिल्लो साउनभरिमा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् । पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।
भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताउनुभयो । भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।
असार अन्तिम साता र साउन मध्यसम्मको पटकपटकको मुसलधार वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । साउन महिनामा ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । अन्य भने भाइबर ९सर्पको एक प्रजाति, बिच्छी र खजुराले टोकेका पुष्टि भएको देवकोटाको भनाइ छ । यस अवधिमा सर्पदंशको शङ्काले जचाउन आउने नै १२० जना पुगेका केन्द्रले जनाएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिकाका वडानम्बर १, २, ३, ४ र १४ सर्पको खानी नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताउनुभयो ।
विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म एक हजार ४३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १६०, आव २०७५÷०७६ मा ३१९, आव २०७४/०७५ मा २९६, आव २०७३/०७४ मा २७३, आव २०७२/०७३ मा २७० र आव २०७१/०७२ मा १६५ जना रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया