काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी गरेका छन् ।
काठमाडौं,भक्तपुर र ललितपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको भए पनि भीडभाड नरोकिएको र स्वास्थ्य मापदण्डको पनि पालना नभएको हुँदा थप कडाइ गर्नुपर्ने अवस्थामा प्रशासन पुगेको हो ।
दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीपछि छिट्टै निर्णय गर्ने भएका छन् ।
काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतमा कडा गर्न के कस्ता विकल्प हुन सक्छन् भन्ने बारेमा छलफल हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा यसअघि लकडाउन गरिएको थियो । लामो समयसम्म गरिएको लकडाउनले उकुसमुकुस गराएको भन्दै चौतर्फी विरोध हुन थालेपछि खुकुलो गर्दै पूर्णरूपमा हटाइएको थियो । लकडाउन हटाएपछि नै यहाँ संक्रमितको संख्या बढेको सरकारको ठम्याइछ ।
प्रतिक्रिया