भानु नगरपालिका एक साता बन्द

तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो ।

नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि सङ्क्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ, उहाँले भन्नुभयो ।

नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु भने सञ्चालन हुनेछ । स्वास्थ्यसम्बन्धी यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको छ । ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङका आधारमा र परिवारका अन्य सदस्यहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।