अनेक कोशिस गर्दा पनि चिनियाँ रक्षामन्त्रीले प्रचण्डलाई किन भेट दिएनन् ?

चीनबाट राष्ट्रपति सि चिन फिङ र प्रधानमन्त्री लि खछ्याङपछिका शक्तिशाली पदाधिकारी रक्षामन्त्री वेइ हेङ्फे आइतबार नेपालको द्रूत भ्रमणमा आए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरे । तर, सत्तारुढ दलकै अध्यक्ष, त्यसमा पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध भएको पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गर्न पाएनन् ।

केही दिनअघि मात्र उनले भेटको वातावरण बनाउन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसमक्ष अनुरोध गरेका थिए । त्यतिले नपुगेर चीनसँग राम्रो सम्बन्ध भएका सभामुख अग्नि सापकोटा र उनका छोरा परराष्ट्र अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के र लीलामणि पौड्याल समेतलाई परिचालन गरेका थिए । तर, चिनियाँ उच्च पदाधिकारीसँग भेटवार्ता गर्न प्रचण्ड सफल भएनन् ।

अझ भनौँ, चिनियाँले प्रचण्डसँग भेटघाट गर्न आवश्यक वा औचित्यपूर्ण ठानेनन् । अर्थात्, नेकपाका अध्यक्ष भए पनि प्रचण्ड चिनियाँ नजरमा भेटका लागि लायक भएनन् । अब प्रचण्डबिनै पनि चीनले नेपाल सम्बन्ध सञ्चालन गर्न सक्छ भन्ने सन्देश रक्षामन्त्रीको भ्रमणबाट स्पष्ट भएको छ ।

सांकेतिक र चातुर्यपूर्ण कूटनीतिका लागि चिनियाँहरु संसारमै कहलिएका छन् । उनीहरु शब्द कम, संकेत बढी प्रयोग गर्दछन् । भारतीय उच्च अधिकारीहरुको नेपाल भ्रमण सघन बनेको, त्यसमा पनि नेपाल सम्बन्ध सञ्चालन गर्न सुरक्षा अधिकारीहरु बढी परिचालित भएको बेला पारेर चिनियाँ रक्षामन्त्रीले काठमाडौँमा द्रूत भ्रमण गरेका छन् । आठ घण्टाको बीचमा उनले भेट्नुपर्ने जतिलाई भेटेका छन् । दिनुपर्ने सन्देश पर्याप्त दिएका छन् । र, जति भेटघाट र कार्यक्रममा उनी सहभागी भएका छन्, त्यहाँ उनले विषयवस्तुमा केन्द्रित भएर स्पष्ट कुराकानी गरेका छन् ।

स्रोतहरुले बताएअनुसार, नेपालसँग जुन रणनीतिक साझेदारी गर्ने समझदारी राष्ट्रपति सि चिन फिङको भ्रमणताका भएको थियो, त्यसतर्फ के कति प्रगति भयो भन्ने चीनको मूल जिज्ञासा रहेको छ । त्यस्तै भारत र अमेरिकाबीच भएको रक्षा समझदारीलगत्तै भारतीय सेनाप्रमुख आएको केही दिनमै चिनियाँ सेना प्रमुख एवं रक्षामन्त्री काठमाडौँ टेकेका छन् । यसले पक्कै पनि भूराजनीतिक अर्थ, महत्व र चासो बोकेको छ । यसका परिणाम वा असर अबका केही दिनमा विस्तारै देखिँदै जानेछन् ।

यसका अलाबा चीनले नेपालको राजनीतिक स्थायित्वमा बारम्बार जोड दिँदै आएको छ । नेकपाभित्रको रडाकोप्रति चीनको चासो बढ्दै गएको छ । चुनाव भएको पाँच वर्ष पनि एउटा कार्यकारीले काम गर्न नपाउने वा आउँदो चुनावअगावै सरकार फेरिने कुरालाई लिएर चीन बढी चिन्तित रहेको छ । अझ उसले भरोसा गरेको दल नेकपा दक्षिणी वा अरु कुनै शक्तिको चलखेलका कारण फुट्न लागेको चिनियाँ बुझाइ छ, जुन उसका लागि पनि प्रिय खबर होइन । यस्तो खेलमा कुनै बेला चीनले निकै विश्वास गरेका नेता प्रचण्ड नै प्रमुख गोटी बनेको विश्लेषण चिनियाँहरुको पाइन्छ ।

कम्तीमा नेपालको अस्थिरताको कारक प्रचण्ड बन्छन् भने चीनका लागि त्योभन्दा ठूलो बेचैनी अर्को हुने छैन । त्यसकारण पनि चीन प्रचण्डसँग सतर्क रहेको देख्न सकिन्छ । अहिले रक्षामन्त्री आएर प्रचण्डसँग भेटेको भए उनले हालैका दिनमा गरेका क्रियाकलापलाई चीनले मान्यता दिएको अर्थ लाग्न सक्थ्यो । अझ भन्दा दुई अध्यक्षबीच चर्किएको विवादमा चीनले खेल्न खोजेको सन्देश जान सक्थ्यो । नेपालमा भोलि हुने कुनै राजनीतिक दुर्घटना वा चामत्कारिक सहमतिमा चिनियाँ हात रहेको अनुमान लगाउने ठाउँ बन्थ्यो ।

प्रचण्डलाई नभेटेर चिनियाँले अहिले स्पष्टतः दुईवटा सन्देश दिएका छन्–
एक, नेपालका र नेकपाका वास्तविक नेता केपी शर्मा ओली हुन् । प्रचण्ड होइनन् । जे कुरा हुन्छ, संस्थापनसँग मात्र हुन्छ ।
दुई, प्रचण्ड कुनै गणनामा आउने नेता होइनन् । उनले चालेका कदम वा गरिरहेका क्रियाकलापमा साथ, सहयोग वा समर्थन हुन सक्दैन ।

कुनै बेला चीनले प्रचण्डलाई दक्षिण एसियाकै प्रभावशाली नेताका रुपमा स्वागत नगरेको होइन । विभिन्न मञ्चमा उनलाई ठूलै व्यक्तित्वका रुपमा प्रस्तुत पनि नगरेको होइन । तर, चिनियाँबाट पाएको त्यो सम्मानअनुरुप प्रचण्डले व्यवहार गर्न सकेनन् । एउटा नेतामा हुनुपर्ने कूटनीतिक परिपक्वता, स्थिरता, अडान र स्पष्टता जुन हुनुपर्ने थियो, त्यो हुनै सकेन । प्रचण्ड एकपछि अर्को गरी अस्थिर, अविश्वसनीय र अपरिपक्व पात्रमा दरिँदै गए ।

कतिसम्म भने पहिलोपल्ट प्रधानमन्त्री भएलगत्तै बेइजिङ ओलम्पिकको निम्तो पाएका प्रचण्ड २०६५ भदौ ११ मा चीनबाट फर्केर त्रिभुवन विमानस्थलमा ओर्लँदा नओर्लँदै अत्तालिँदै ‘मेरो पहिलो राजनीतिक भ्रमण भारत नै हुने’ बताएका थिए । चीनको दृष्टिमा त्यो एकदमै अपरिपक्व र चिनियाँ सद्भावको अवहेलना थियो ।

दोस्रोपटक प्रधानमन्त्री भएपछि त प्रचण्डले दक्षिणको भ्रमण दुईपटक गरिसकेपछि मात्र २०७३ चैतमा चीन भ्रमण गरेका थिए । त्यस भ्रमणलाई चीनले सामान्य शिष्टाचार निभाएर प्रचण्डलाई स्वागत गरेको थियो । यसपालि ठूलै तामझाम केही भएन । महत्त्वपूर्ण सम्झौता वा समझदारी पनि भएन । प्रचण्डले आफू सत्तामा जान भारतीयको सहयोगमा ओली सरकार ढालेर कांग्रेससँग मिलेको चिनियाँ पक्षको बुझाइ थियो ।

गएको आम निर्वाचनपछि प्रचण्डले आफ्नो सानो एक कम्युनिस्ट घटक तत्कालीन नेकपा एमालेमा विलय गराए । तत्काल महाधिवेशन गर्नुपर्ने बाध्यता छल्नका लागि पार्टीको नामै परिवर्तन गरेर नेकपा बनाइयो । ओली प्रधानमन्त्री भइसकेका थिए । तर, नजिकका दुई छिमेकीको विश्वास जित्न र ओलीको विकल्पमा आफू तयार रहेको सन्देश दिन प्रचण्डले सत्तारुढ दल नेकपा अध्यक्षका रुपमा पहिलो भ्रमणका लागि भारत रोजे ।

२०७५ भदौ २२ मा भारत गएका उनले उच्च राजनीतिक तहमा भ्रमण गरी चार दिनमा काठमाडौँ फर्किए । त्यसको एक हप्ता पनि बित्न नपाउँदै असोज १ गते चीनतर्फ उडे ।

चीन जाँदा उनी जति उत्साहित थिए, फर्किँदा त्यो उत्साह कायम थिएन । कारण, चीनको नजरमा प्रचण्ड अन्तिम परीक्षामा फेल भइसकेका थिए । पहिला पनि पटकपटक अविश्वसनीय गरिसकेका प्रचण्डले यसपटक देखादेखी कूटनीतिक अपरिपक्वता र अराजनीतिक व्यवहार देखाएका थिए । पहिला चीन भ्रमण तय गरेका उनी बीचैमा भारत निस्किएका थिए । उनको यस व्यवहारपछि चीनमा उच्चस्तरको भेटघाट हुनै सकेन । पार्टीको अन्तर्राष्ट्रिय विभागका एकजना नेतासँग भेटाएर चीनले फर्काइदियो ।
गत वर्ष राष्ट्रपति सि चीन फिङले पनि प्रचण्डसँगको भेटलाई कुनै प्राथमिकता दिएनन् । सुरुमा राष्ट्रपतिको भ्रमणतालिकामै राख्न चीनले मानेको थिएन । प्रचण्ड र उनका तर्फबाट अरु केही चीननिकटका पूर्वमाओवादी नेताहरुले जोडबल गरेपछि होटल सोल्टीमै केही मिनेटको भेट सम्भव भएको थियो, त्यो पनि पार्टीका अरु नेताहरुलाई सँगै राखेर । उक्त सामूहिक भेटले प्रचण्ड नेकपाका दोस्रो पुस्ताका अरु नेताकै हाराहारी रहेको सन्देश चीनले प्रस्ट रुपमा दिएको थियो ।

चीनसँगको सम्बन्ध सुधार गर्न प्रचण्डले यसबीचमा निकै कोशिस गरेका हुन् । यसका लागि तत्कालीन राजदूत लीलामणि पौड्यालले पनि सकेको जोडबल गरेकै हुन् । तर, ओलीको विकल्पमा आफूलाई प्रस्तुत गर्न खोजेपछि चीनले प्रचण्डलाई महत्व दिन छाडेको प्रस्ट हुन्छ ।

त्यसो त ओलीले पनि चीनलाई स्पष्ट शब्दमा के सन्देश दिएका थिए कि एक देशमा, एक व्यवस्था हुन्छ, एक पार्टी हुन्छ र एक नेता हुन्छ । तसर्थ, आफूबाहेक अन्य नेतालाई महत्व दिनु जरुरी छैन । ओलीले चिनियाँ शैलीमै दिएको यो सन्देश उनीहरुलाई पनि जँचेको हुनुपर्छ । फलतः गत वर्षको मंसिर २४ गते तय भइसकेको प्रचण्डको चीन भ्रमण पनि स्थगित गर्नुपरेको थियो । यसको संयोग पनि कस्तो थियो भने प्रचण्डले त्यही महिनाको ४ गते मात्र ओलीसँग झगडा गरेर कार्यकारी अधिकार लिएका थिए । ओलीविरुद्ध घेराबन्दी गर्ने नेतालाई चीनमा स्वागत गरिँदा के अर्थ जान्थ्यो रु कुरा स्पष्टै छ । जुन कुरा चीनले त्यसबेलै आकलन गरेर प्रचण्डलाई व्यवहारबाटै जवाफ फर्काएको देखिन्छ ।

प्रचण्डलाई चीनसँग नजिक्याउन खोज्दा र ओलीकै हाराहारी व्यक्तित्वका रुपमा प्रस्तुत गर्न खोज्दा लीलामणि पौड्यालको राजदूत पद नै खोसियो, जसरी दीपकुमार उपाध्यायको भारतस्थित नेपाली दूतावासको जागिर खोसिएको थियो ।

यी घटनाक्रमबाट प्रचण्डले बुझ्नुपर्ने कुरा के हो भने बढी चतुर्याइँ र धुत्र्याइँ गर्न खोज्दा कसैले पनि पत्याउँदैनन् । आफ्नै पार्टीका नेताको शिरच्छेदन गर्न खोज्दा अरुका सामु आफ्नो कद अग्लो हुँदैन । तसर्थ, पहिला आफ्नो पार्टीमा विश्वास आर्जन गरौँ । त्यसपछि विदेशीले पनि पत्याउनेछन् ।

प्रधान सम्पादक नारायण दाहाल
सम्पर्क 9851021550