गण्डकी प्रदेशले १३औ सागमा पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान गर्यो  

गण्डकी प्रदेशले १३औ सागमा  आफ्नो प्रदेशबाट प्रतिनिधीत्व गरेका खेलाडीलाई नगद सहित सम्मान गरेको छ 


प्रदेश सरकारले  १३औं दक्षिण एसियाली खेलकुदतर्फ पदक जित्न सफल भएका आफ्ना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मानित गरेको हो ।
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत कुल ४७ जनालाई नगद सहित सम्मान गरेको छ ।

सरकारले सागका विभिन्न खेलकुदमा सहभागी भई विजेता रहेका ४० जना खेलाडी, ५ जना प्रशिक्षक र दुई जना व्यवस्थापकलाई सम्मान गरेको मन्त्रालयका उपसचिब तेज प्रसाद काफ्लेले बताए ।

प्रदेश सरकारले एकलतर्फ स्वर्ण पदक विजेतालाई १ लाख, टिम गेम स्वर्ण विजेतालाई ७५ हजार, एकलतर्फ रजतलाई ७० हजार, टिमतर्फ रजतलाई ५० हजार, एकल तर्फ काश्य विजेता लाई ४० हजार, टिमतर्फ काश्य विजेतालाई ३० हजार प्रदान गरेको छ ।

यसै गरि दुई एकल तर्फ रजत पदक जित्नेलाई थप ५० हजार, टिम गेममा थप काश्य पदक जित्नेलाई ३० हजार प्रदान गरेको छ भने स्वर्ण पदक जित्ने प्रशिक्षकता र व्यवस्थापक लाई ५० हजार, रजत पदक जित्नेलाई ३० हजार र काश्य पदक जित्नेलाई २० हजार प्रदान गरेको छ । प्रदेश सरकारले खेलाडीलाई सम्मान तथा पुरस्कार स्वरुप वापत २३ लाख ९५ हजार खर्च भएको जनाएको छ ।

गण्डकी प्रदेशबाट सहभागी खेलाडी मध्ये तेक्वान्दोकी खेलाडी पार्वती गुरुङले १ लाख २५ हजार पाएकी छन । पार्वतीले एक स्वर्ण र काश्य पदक जितेकी थिइन भने करातेमा स्वर्ण पदक विजेता नविन रसाइलीले १ लाख प्राप्त गरेका छन ।

सबैभन्दा वढी रकम प्राप्त गर्नेमा पौडी खेलका दुवाना लामा रहेका छन । उनले दुई रजत र तिन काश्य पदक जित्दै प्रदेश सरकारबाट १ लाख ९५ हजार हात पारेका छन ।

तेक्वान्दोकी रजत पदक विजेता प्रशंसा क्षेत्रीले ७५ हजार, फुटबलका सुमन अर्यालले ७५ हजार, उषु खेलकी विन्दु पुन र कराते खेलकी अनु गुरुङले जनही ७० हजार पाएका छन ।

टेवल टेनिसमा एक रजत र एक काश्य पदक विजेता विनेश खनियाले ७५ हजार, साइक्लिङतर्फ रजत पदक विजेता उषा खनाल र जमुना थापाले जनही ७० हजार, महिला भलिवल तर्फ नेपालका लागि ऐतिहासिक काश्य पदक जित्न सफल गण्डकी प्रदेशबाट सहभागी अरुणा शाही, उषा भण्डारी, सोफिया पुन, हिरा केसी, कमला पुन र एलिना गुरुङले जनही ५० हजार नगद पाएका छन ।

त्यसै गरि महिला बास्केटबलतर्फ रचना श्रेष्ठ, अनुषा मल्ल, अलिषा मल्ल, प्रिती तुलाचनले नगद ५० हजार प्राप्त गरेका छन । टिममा सहभागी अनुषा र अलिषा दिदी वहिनी हुन ।

महिला फुटबलकी टिम सदस्य सावित्री भण्डारीले ५० हजार, ट्राइयाथोलनकी केशरी थापा मगरले ५० हजार, खोखोकी धनमाया दर्लामी, ह्याण्डबलकी झिन माया थापा मगर र फेन्सिङकी रिता पाठकले जनही ५०–५० हजार प्राप्त गरेका छन । एकल तर्फ वक्सिङमा रजत जित्ने संगिता सुनार र तेक्वान्दोकी निमा गुरुङले जनही ७०–७० हजार प्राप्त गरेका छन ।

 

--