वीरगञ्‍जमा थप ८ जना कोरोना संक्रमित : अनिश्चितकालिन निषेधाज्ञा जारी

पर्सा- वीरगञ्‍जमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् ‌।

वीरगञ्‍जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।

वीरगञ्‍जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमै कोरोना फैलिएपछि निषेधाज्ञा अनिश्चितकालिन रुपमा जारी गरिएको हाे ।

हिजो (शुक्रबार) साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जनाएका हस ।

यसअघि निधन भएकी १७ वर्षीय किशोरीमा पनि हिजाे संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरूको स्वाब अस्ति (बिहीबार) संकलन गरिएको थियो ।

वीरगञ्‍जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्‌। कुनै ट्राभल हिस्ट्री नरहेका तथा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो ।

पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌ । चार जनालाई आइसीयूमा राखिएको छ ।

अस्पतालमा भर्ना गरिएका धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छ । सहायक प्रजिअ बस्‍नेतले कोरोना संक्रमओको उच्च जोखिममा रहेकाले भीडभाडमा नजान, स्वास्थ्यसुरक्षाका सबै शर्त र मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन् ‌।

बिहीबार राती पनि पाँच जना थुनुवासहित जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार मात्रै कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ । सरकारले लकडाउनका अधिकांश प्रावधान हटाएसँगै केही दिन अघिदेखि पर्साका बजार खुलेका थिए ।

भीडभाड बढेको र आवश्यक स्वास्थ्य सजगता नअपनाएकाले संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ‌।