बाबर आजमले विराट कोहलीलाई पछाडि पार्दै टी-२० क्रिकेटमा दोस्रो स्थानमा कब्जा
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा उक्लिएका छन् । उनी भारतका स्टार खेलाडी विराट कोहलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार बाबर आजमले यस्तो उपलब्धि हासिल गरेका हुन् । उक्त खेलमा पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै १८.१ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो ।
पाकिस्तानका लागि बाबर आजमले ४१ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान बाबर आजमले केवल २८ बलको सामना गरी चार चौका पनि हिर्काए। त्यसलगत्तै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन् ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले बनाएको रन सैंख्या चार हजार एक सय ९२ पुगेको छ । यसअघि यो सूचीमा विराट कोहली दोस्रो स्थानमा थिए। विराटले चार हजार एक सय ८८ रन बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको पहिलो सूचीमा भने भारतका रोहित शर्मा रहेका छन् । रोहितले कुल चार हजार दुई सय ३१ रन बनाएका छन् ।
प्रतिक्रिया