रुजवेल्टलाई लगभग समाप्त गरिदिएको त्यो जङ्गल
काठमाडौँ, २ मङ्सिरः जो बाइडेन आइतबार अमेजनको भ्रमण गर्ने पहिलो कार्यरत अमेरिकी राष्ट्रपति हुनुहनेछ । त्यो विशाल उष्णकटिबन्धीय वर्षावन अमेजनले पूर्वराष्ट्रपति टेडी रूजवेल्टलाई पद छोडेपछि लगभग मारेको थियो ।
यो भ्रमण बाइडेनको दक्षिण अमेरिकाको अन्तिम दौराको हिस्सा हो । यसपछि उहाँले ह्वाइट हाउसको साँचो डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गर्नुहुनेछ । ट्रम्प दुई महिनामा संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपति बन्दै हुनुहुन्छ ।
एकासी वर्षीय बाइडेन रियो दि जेनेरियो जाँदै गर्दा अमेजनको सबैभन्दा ठूलो सहर मनाउसमा पुग्नुहुनेछ । त्यहाँ दुई दिने जी–२० शिखर सम्मेलन हुँदैछ ।
अमेजन जङ्गल २६औँ अमेरिकी राष्ट्रपति रूजवेल्टका लागि सौभाग्यशाली गन्तव्य थिएन । सन् १९०१–१९०९ को कार्यकाल समाप्त भएको चार वर्षपछि सन् १९१४ मा त्यहाँ डुङ्गा अभियानमा जाँदा उहाँले मृत्युको नजिकको अनुभव गर्नुभएको थियो ।
साहसिक स्वभावका लागि चिनिने रिपब्लिकन रूजवेल्टले ब्राजिलियाली अन्वेषक क्यान्डिडो रोन्डोनसँग मिलेर अमेजनमा ब्राजिलको जङ्गली मध्य–पश्चिममा रहेको सहायक नदी रियो दा दुभिदा (शङ्काको नदी) को नक्साङ्कन गर्ने काम गर्नुभएको थियो ।
सात सय ६० किलोमिटर (चार सय ७० माइल) लामो नदी एक कठिन प्रतिद्वन्द्वी साबित भयो । रूजवेल्टको अभियानका केही सदस्यहरूको मृत्यु भयो र त्यस समय ५५ वर्षका पूर्वराष्ट्रपतिलाई मलेरिया र खुट्टामा सङ्क्रमण भयो र यसले अन्तिम कठिन खण्डमा उहाँलाई असक्षम बनायो ।
“टी.आर. (टेडी रूजवेल्ट) अन्त्यतिर होश बाहिर हुनुहुन्थ्यो; रोन्डोनले उहाँलाई धेरै पटक मृत मान्नुभएको थियो”, उहाँका पनाति ट्विड रूजवेल्टले भन्नुभएको थियो । उहाँको भनाइलाई सन् १९९२ मा न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो ।
रुजवेल्टनलाई आफ्नो यात्रा सुरु गर्नुअघि अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका साथीहरूले खतराहरूबारे चेतावनी दिँदा उहाँले उनीहरूलाई आफूले पहिले नै पूर्ण जीवन बाँचेको र जोखिमका लागि तयार रहेको बताउनुभएको थियो ।
स्मिथसोनियन म्यागाजिनका अनुसार उहाँले भन्नुभयो, “मसँग मेरो पूर्ण हिस्सा पाइसकेको छु र यदि मैले दक्षिण अमेरिकामा मेरा हड्डीहरू छोड्न आवश्यक छ भने म त्यसो गर्न पूर्णतया तयार छु ।”
अन्त्यमा रुजवेल्ट–रोन्डन अभियान प्रकोपबाट बाँच्नुभएको थियो । उहाँहरूले जङ्गलमा ब्राजिलका रबर–ट्यापरहरू भेट्नुभयो । ती रबर–ट्यापरहरूले उहाँहरूलाई कार्गो डुङ्गाहरूसम्म पुग्न र त्यहाँबाट बाहिरी संसारको सुरक्षामा फर्कन पर्याप्त सहयोग गरे ।
रूजवेल्टले आफ्नो कष्टबाट पूर्ण स्वास्थ्य कहिल्यै पुनः प्राप्त गर्नुभएन । यद्यपि उहाँ र रोन्डोनले शङ्काको नदीको नक्साङ्कनका लागि प्रशंसा पाउनुभयो । पूर्वराष्ट्रपति रुजवेल्टको सन् १९१९ मा ६० वर्षको उमेरमा फोक्सोमा रक्त जमेर घरमै निधन भयो ।
उहाँको सम्मानमा उहाँले नाप गरेको नदीको नाम रूजवेल्ट नदी राखियो ।
प्रतिक्रिया