उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष पदका उम्मेदवार सुजता थापामाथि उम्मेदवारी नदिन धम्की दिइएको आरोप लगाइएको छ। पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै मंसिर १ गते करिब १ बजेको समयमा थापा र उनका श्रीमान बल थापालाई ४० देखि ४५ जना युवाहरूको समूहले अपहरण शैलीमा घरबाट तानेर अज्ञात स्थानतर्फ लगेको जनाएकाे छ ।
रास्वपाका अनुसार, उम्मेदवारलाई मानसिक दबाब दिँदै रास्वपाबाट उम्मेदवारी दिएमा गम्भीर परिणाम भोग्नुपर्ने धम्कीसमेत दिइएको छ। घटनापछि सुजता थापा र उनका परिवार मानसिक तनावमा रहेको र असुरक्षाका कारण उम्मेदवारी दिन नसक्ने अवस्थामा पुगेको जानकारी गराइएको छ।
घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरूको संलग्नता रहेको सूचना पाइएको र उम्मेदवारको टोलिमा खटिएका अन्य सदस्यहरूमाथि पनि दुर्व्यवहार, लछारपछार, र कुटपिट गरिएको विवरण प्राप्त भएको रास्वपाले बताएको छ। यसअघि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराए पनि समयमै सुरक्षा निकायबाट उचित सहयोग प्राप्त नभएको गुनासो पार्टीले गरेको छ।
मधेश प्रदेशमा समेत रास्वपाका सम्भावित उम्मेदवारहरूमाथि धम्की र प्रलोभनका घटना भएको उल्लेख गर्दै पार्टीले यस्तो गैरलोकतान्त्रिक गतिविधिप्रति आपत्ति जनाएको छ। रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगलाई लिखित पत्र बुझाउँदै दोषीमाथि कडा कारबाही गर्न र उपनिर्वाचनलाई निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
यस प्रकारको घटनाले लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर्याएको भन्दै पार्टीले आम जनमानसमा निर्वाचनप्रतिको विश्वास घट्न सक्ने चेतावनीसमेत दिएको छ। निर्वाचन आयोगले भने घटनाबारे अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
प्रतिक्रिया