पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु

 काठमाडौँ, १ मङ्सिरः पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, “करिब ४० देखि ५० जना सशस्त्र आतङ्ककारीले कलात जिल्लामा सक्रिय अर्धसैनिक लडाकू समूह ‘फ्रन्टियर कोर बलुचिस्तान’ ले सीमास्थित चौकीमा आक्रमण गर्दा सात सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

केही घण्टासम्म गोली हानाहान भएको उनले बताए । 

एक स्थानीय नागरिक प्रशासनिक अधिकारीले हताहतको सङ्ख्या पुष्टि गर्दै घाइतेहरूलाई ‘यस दुर्गम क्षेत्रबाट हेलिकप्टरको सहायतामा प्रान्तीय राजधानी क्वेटामा  उपचारको लागि पठाइएको’ बताए । 

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) पृथकतावादी समूहका प्रवक्ता जीयान्ड बलोचले थप विवरण नदिई आक्रमणको जिम्मेवारी लिएका छन् ।

बीएलएले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू, विशेष गरी पञ्जाबीहरूविरुद्ध घातक आक्रमणको दाबी गर्ने गरेको छ। 

लडाकूहरूले विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई पनि लक्षित गर्ने गरेका छन् ।
 
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक एक विज्ञप्तिमा ‘आतङ्कवादी हमला’ को निन्दा गर्दै ‘दोषीमाथि तत्काल कारबाही गरिने’ प्रतिवद्धता जनाउनुभएको छ । 

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानको रेलवे स्टेसनमा बीएलएले १४ सैनिकसहित २६ जनाको हत्या गरेको एक सातापछि पछिल्लो आक्रमण भएको हो ।

बिएलएका अनुसार यसअघि क्वेटा रेलवे स्टेसनमा रहेको पाकिस्तानी सेनाको युनिटमा आक्रमण भएको थियो । गत अगष्टमा बिएलएले दर्जनौं आक्रमणकारीले गरेको कम्तीमा ३९ जनाको मृत्यु भएको समन्वित आक्रमणको जिम्मेवारी लिएको थियो ।