युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान

जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिनुभएको छ । 

पश्चिम र युक्रेनले रूसको कुस्र्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेका समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गर्नुभएको हो । 

उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ ।“यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भन्नुभयो । 

“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं।मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गर्नुभएको छ । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ ।

उहाँले भन्नुभयो, “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।”इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताउनुभएको छ । 

सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भन्नुभएको छ ।
 
युक्रेनी मन्त्रीले आफ्ना जापानी समकक्षीको भ्रमणलाई ‘विशेष गरी यस्तो कठिन समयमा ऐक्यबद्धताको महत्वपूर्ण सङ्केत’ भन्नुभएको छ । उहाँले किएभको टोकियोसँगको सम्बन्धको प्रशंसा गर्दै भन्नुभयो, “हामीबीच आठ हजार किलोमिटर दूरी भए पनि हाम्रा देशहरू सामाजिक तथा मानवीय नैतिक मूल्य मान्यतामा निकै नजिक छन्।”