एलन मस्कको एक्स छोड्ने बढे
अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको छ । ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लुस्काईमा आएका हुन् ।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो सातामा मात्रै ब्लुस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । यससँगै प्लेटफर्ममा एक करोड ६० लाख प्रयोगकर्ता पुगेका छन् । एक्सको विकल्पको रूपमा ती प्रयोगकर्ताहरू ब्लुस्काईमा आएको विश्लेषण गरिएको छ ।
ब्लुस्काईमा यसरी प्रयोगकर्ता थपिनुमा चर्चित संस्था तथा व्यक्तिहरूले एक्स छाड्ने घोषणा गर्नु पनि हो । हालै मात्र गैरनाफामूलक संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट, बेलायती समाचार संस्था द गार्डियन र समाचार संस्था सीएनएनका प्रस्तोता डन लेमनले एक्स छाड्ने घोषणा गरेका छन् ।
६ नोभेम्बरमा राष्ट्रपतिमा ट्रम्प विजयी हुँदा अमेरिकामा एक्सको ट्राफिक चार करोड ६५ लाख बढी पुगेको थियो । जुन यो वर्षकै सबैभन्दा धेरै हो । तर त्यही दिन अमेरिकाका एक लाख १५ हजार बढी प्रयोगकर्ताले एक्स एकाउन्ट डिएक्टिभेट गरेका थिए । त्यस्तै सोही दिन ब्लुस्काईले १२ लाख बढी ट्राफिक पाएको थियो ।
अमेरिकी निर्वाचनपछि ब्लुस्काईमा प्रयोगकर्ता बढ्नुको अर्को कारण एक्सको सेवाका सर्त परिवर्तन हुनुलाई पनि मानिएको छ । नयाँ सर्तअनुसार एक्ससँग सम्बन्धित सबै कानुनी मुद्दा टेक्सासको उत्तरी जिल्ला अदालत वा टारन्ट काउन्टीको अदालतमा मात्र दायर हुनेछ । यसले मस्क पक्षधर न्यायाधीशहरूले मुद्दा एक्सको पक्षमा दिने भन्दै प्रयोगकर्ताले एक्स छाडेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया